काठमाडौं । विद्यालय शिक्षा विधेयक–२०८० विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ ।
विधेयकमाथि सांसदहरूले सैद्धान्तिक छलफलमा उठाएका प्रश्नको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले आइतबार जवाफ दिएका थिए । मन्त्री राईले विधेयक स्वीकृत गरेर दफावार छलफल गरी छिटो पारित गर्ने दिशातिर संसद जानुपर्ने बताएका थिए ।
सभामुख देवराज घिमिरेले विद्यालय शिक्षा विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्दा सर्वसम्मतिले स्वीकृत भएको हो ।
प्रतिनिधि सभा नियमावलीको नियम ११२ अनुसार विधेयकमाथि ७२ घन्टाभित्र संशोधन दिन सकिनेछ । सभामुख घिमिरेले विधेयक शाखामा संशोधन पेश गर्न आग्रह गरेका छन् ।