काठमाडौं । गम्भीर धोका भएको भन्दै मोरङ जिल्लाको केरावारी गाउँपालिकास्थित श्री आमजुंगी आधारभूत विद्यालयका प्रधानाध्यापकसहित शिक्षक, बालविकास शिक्षक तथा कर्मचारीले स्वतन्त्र शिक्षकको रुपमा मात्र रहने बताएका छन् । सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै १० जना शिक्षक तथा कर्मचारीले सबै संघसंस्था र भातृसंगठन परित्याग गरेको घोषणा गरेका हुन् ।
गत असोज ७ गते भएको नेपाल शिक्षक महासंघ र सरकारबीच ६ बुँदे सम्झौता भएको थियो । उक्त सम्झौतामा
आफुहरूले उठान गरेका माग मुद्दा सम्बोधन नगरिएको भन्दै राहत शिक्षक लगायतले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेका छन् । उक्त विद्यालयका शिक्षकले नेपाल शिक्षक महासंघ साथै घटक संघ संस्थाहरूका सबै प्रतिनिधीहरुले जिम्मेवारीका साथ शिक्षक कर्मचारीका मागहरू संबोधन गराउने पक्षमा निर्णय नगरेको भन्दै उप्रान्त कुनै संघसंस्थामा नरहने घोषणा गरेका हुन् ।
जारी विज्ञाप्तिमा भनिएको छ, ‘नेपाल सरकारका प्रतिनिधी र नेपाल शिक्षक महासंघ साथै घटक संघसंस्थाहरूका सबै प्रतिनिधीहरुबीच भएको सहमतिका बुँदाहरु अध्ययन गर्दा नेपाल शिक्षक महासंघ साथै घटक संघ संस्थाहरूका सबै प्रतिनिधीहरुले जुन जिम्मेवारीका साथ शिक्षक कर्मचारीका मागहरू संबोधन गराउने पक्षमा निर्णय गराउछ भन्ने अपेक्षा थियो, सो अनुरूप नगरी गम्भीर धोका भएको र जुन प्रकारले देशव्यापी रुपमा शिक्षक कर्मचारीहरु आन्दोलित हुँदैगर्दा अपेक्षा गरिएका कुनै पक्षबाट पनि सकरात्मक भूमीका निर्वाह गर्ने सवालमा गम्भिरता नदेखाई सरकारको गुलाम भई निहित व्यक्तिगत स्वार्थमा लिप्त भई घोर गढारी गरेको पाइयो । यस अवस्थामा शिक्षकका मागहरु प्रति जिम्मेवार बन्न नसक्ने घटक संघसंस्था र महासंघप्रति आस्था राख्नुको कुनै औचित्यता नरहने निष्कर्षसहित आजकै मितिबाट यस केरावारी गाउपालिकाको श्री आमजुंगी आ.वि. का हामी सबै तपसिल बमोजिमका शिक्षक कर्मचारीहरुले अब उप्रान्त स्वतन्त्र शिक्षकको रूपमा मात्र रहने र कुनै दल विशेषको भातृ तथा शुभचिन्तक घटक संघसंस्थाहरुमा आवद्धता पनि नरहने वाचा प्रतिवद्धता गरी राजिनामा वा परित्याग गरेको यसै विज्ञाप्ती मार्फत जानकारी गराउँदछौं ।’
उनीहरुले उप्रान्त स्वतन्त्र शिक्षकको रूपमा मात्र रहने र कुनै दल विशेषको भातृ तथा शुभचिन्तक घटक संघसंस्थाहरुमा आवद्धता पनि नरहने वाचा प्रतिवद्धता गरी राजिनामा वा परित्याग गरेको यसै विज्ञप्ति मार्फत जानकारी गराएका छन् ।
विद्यालयका प्रअ शिक्षक रेवती प्रसाद मिश्र, शिक्षक कल्पना अर्याल, समिक्षा खडका, बुद्धेश्वर प्रसाद साह, कविन्द्र लिम्बु, उर्मिला कार्की, यज्ञप्रसाद पोख्रेल, विक्रम कुमार साह, सका कमला श्रेष्ठ, शिक्षक र कर्मचारी रत्नमाया लम्सालले हस्ताक्षरसहित सामुहिक विज्ञप्ति जारी गरेका हुन् ।