काठमाडौं । सरकारसँगको ६ बुँदे सहमतिमा असन्तुष्ट जनाउँदै राहत शिक्षकहरूले आन्दोलन जारी राख्ने भएका छन् । नेपाल राहत शिक्षक केन्द्रीय समिति र पेन्सन वञ्चित शिक्षक केन्द्रीय समितिले शनिबार छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै आन्दोलन जारी राख्ने जनाएका हुन् ।
पेन्सन वञ्चित शिक्षक समूहद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हामी पेन्सन वञ्चित राहत शिक्षक समूह, राहत शिक्षक, बालविकास सहजकर्ता र कर्मचारीहरूको आन्दोलनले सार्थकता पाएको छ । सरकारले सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने निर्णय गरियो ।’
यस्तै, नेपाल राहत शिक्षक केन्द्रीय समितिले जारी गरेको विज्ञप्तिमा सम्पूर्ण राहत शिक्षकको स्थायी व्यवस्थापनका लागि आन्दोलन जारी राख्ने निर्णय भएको जनाइएको छ ।
आइतबार थप सशक्त प्रदर्शन गर्ने गरी विभिन्न संघर्ष समितिलगायत सम्पूर्ण शिक्षक, बालविकास शिक्षक र विद्यालय कर्मचारीहरूसँग सहकार्य गर्दै अघि बढ्ने निर्णय भएको समितिले जनाएको छ ।
शिक्षक महासंघले धोका दिएको राहत शिक्षकहरूको आरोप छ । सरकार र शिक्षक महासंघबीच शुक्रवार ६ बुँदे सहमति भएपछि आन्दोलन फिर्ताको घोषणा भएको थियो । तर त्यसलाई राहत शिक्षकहरूले मानेका छैनन् ।