काठमाडौं। सरकारको तर्फबाटआन्दोलनरत शिक्षकहरुसँग वार्ता गर्ने जिम्मा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पाएका छन् ।कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले आन्दोलनरत शिक्षकसँग वार्ता गरेर देशैभरको सामूदायिक विद्यालयको पठनपाठन सूचारु गर्ने वातावरण बनाउन गृहमन्त्री श्रेष्ठलाई जिम्मा दिएका हुन् ।
आजबाट सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठकमा बोल्दै खड्काले उक्त जिमेवारी श्रेष्ठलाई दिइएको जानकारी गराएका हुन् ।
गृहमन्त्री श्रेष्ठले बिहीबार विहान पनि आन्दोलनरत शिक्षकहरुसँग पहल गरि सहमति खोज्ने प्रयास गरेका थिए । तर दुबै पक्षबीचमा कुरा नमिलेपछि आजै बस्नेगरि बैठक सकिएको थियो । बिहान स्थगित बैठक आजै साँझ बस्ने तय भएको छ ।
संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकको विरोध गर्दै देशभरका शिक्षक कर्मचारीहरू केन्द्रित आन्दोलनमा छन् ।