May 27, 2024, Monday
२०८१ जेष्ठ १४
1:37:26 pm

कक्षा १२ को नतिजा सार्वजनिक, ननग्रेड ल्याउनेको असोज ६ र ७ गते परीक्षा

1.6K

काठमाडौं । वैशाख २६ गतेदेखि जेठ ५ गते सञ्चालित कक्षा १२ परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको छ ।

मंगलबार सार्वजनिक गरेको नतिजामा नियमित र ग्रेडवृद्धि गरी ४ लाख ४८ हजार विद्यार्थी सहभागी भएकामा करिब ५१.९१ प्रतिशत मात्र ग्रेडेड (उतीर्ण) भएका छन् । त्यस्तै ४९.०९ प्रतिशत भने नन ग्रेडेड भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले ३५ प्रतिशत भन्दा कम अंक ल्याउनेलाई नन ग्रेडेडमा राख्दै आएको छ । उनीहरुले माथिल्लो तह अध्ययन गर्न पाउने छैनन् र पुनः ग्रेडवृद्धिको परीक्षा दिनुपर्नेछ । २ विषयसम्म नन ग्रेडेड भएकाहरुका लागि ग्रेडवृद्धिका लागि असोज ६ र ७ गते परीक्षा तोकिएको छ ।

Advertisement

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षामा ननग्रेड (एनजी) ल्याउने विद्यार्थीका लागि असोज ६ र ७ गते ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्ने भएको छ । दुई विषयसम्म नन ग्रेड ल्याएका १ लाख २३ हजार ३९६ जनाले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् । एक विषयमा मात्र एनजी आउनेको संख्या भने ७९ हजार ५८४ जना रहेका छन् ।

कक्षा १२ को परीक्षामा सबैभन्दा धेरै अंग्रेजीमा ननग्रेड भएका छन् । यो विषयमा १ लाख ९ हजार ५२७ जनाको ननग्रेड भएका छन् । कक्षा १२ मा सबै विषयमा ३५ प्रतिशत अंक ल्याएमात्र ग्रेडेड वा उतीर्ण हुने व्यवस्था गरिएको छ ।

नतिजामा चित्त नबुझेमा १५ दिनभित्र प्रतिविषय ५ सय रुपैयाँ तिरेर नतिजा पुनर्योग गराउन सक्ने बोर्डले जनाएको छ । त्यसमा पनि चित्त नबुझे विद्यार्थीले उत्तरपुस्तिका हेर्न र पुन परीक्षण गराउन पनि सक्ने सदस्य सचिव अर्यालले जानकारी दिए ।

पुन परीक्षण गराउँदा पहिले परीक्षण गरेका भन्दा नयाँ ३ जना परीक्षकबाट जाँच गराउने र तीन जनाले दिएको नम्बरको औसत निकाल्ने गरिन्छ । यसरी आएको प्राप्तांक पहिलेको भन्दा १० प्रतिशत कम वा बढी भएमा पहिलेकै अंक कायम हुनेछ । १० प्रतिशत भन्दा बढी कम वा बढी भएमा नयाँ अंक कायम हुनेछ ।