September 25, 2023, Monday
२०८० आश्विन ८
1:37:26 pm

नयाँ शिक्षा ऐन जारी गर्न माग गर्दै संयुक्त विद्यार्थी आन्दोलनको बहस कार्यक्रम

720

काठमाडौँ । नयाँ शिक्षा ऐन जारी गर्न माग गर्दै संयुक्त विद्यार्थी आन्दोलनले बहस कार्यक्रम आयोजना गरेको छ । नेपाल समाजवादी विद्यार्थी युनियन र अखिल (क्रान्तिकारी)ले बिहीबार माइतीघर मण्डलामा बहस कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा बोल्दै नेपाल समाजवादी विद्यार्थी युनियनको इन्चार्ज एवं नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समिति सदस्य मानुसी यमी भट्टराईले शिक्षा क्षेत्रमा व्यापक परिवर्तन आवश्यक भएको बताइन्। ‘गलत शिक्षा नीति ल्याउनु भएन । गरिबमारा शिक्षा ऐन आउनु भएन। शिक्षक र बिद्यार्थीहरूलाई भारी पर्ने खालको शिक्षा ऐन आउनु भएन ।’, उनले भनिन् ।

उनले शिक्षा ऐन  तत्काल जारी गरी शिक्षा क्षेत्रको बेथिति अन्त्य गर्न सरकारसँग माग गरिन् । विश्वविद्यालय शैक्षिक क्यालेन्डर बन्न नसकेकोले विद्यार्थीको पढाई अस्तव्यस्त बन्न गएको उनको भनाई थियो ।

Advertisement

त्यसैगरी विवेकशिल पार्टीको उपाध्यक्ष रन्जु दर्शनाले शिक्षा ऐन पविर्तन गर्न पुरानो राजनीतिक दल तयार नभएको आरोप लगाइन् । ‘शिक्षा ऐन आउन नदिनका लागि ककस्ले कतिकति रकम ठूला राजनीतिक दललाई भुक्तानी गरिरहनुभएको छ ? भन्ने अर्को प्रश्न छ । अहिलेको समयमा बिद्यार्थीहरूले शिक्षकले पढाएर मात्रै पुगेन प्रविधि र इन्टरनेट पनि खोजिरहेका छन्, तर, शिक्षकलाई तालिम पुगेन भन्ने आयोगको प्रतिवेदनमा भनिएको छ । तर, यही साधारण कुराहरू पनि पूरा गर्न नेतृत्वले किन रोकिरहेको छ ? यो मेरो मुल प्रश्न हो ।’, दर्शनाले भनिन् ।

यस्तै, शिक्षा ऐन जारी गराउन निरन्तर खबरदारी गरिरहने र अर्को आन्दोलनको कार्यक्रम चाडै सार्वजनिक गर्ने नेपाल समाजवादी विद्यार्थी युनियनको केन्द्रीय उपाध्यक्ष ओम महतो सङ्ग्रामले जानकारी दिए।