राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डको बिहीबारको बैठकले नतिजा सार्वजनिक गरेको हो । गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी सहभागी थिए ।
नतिजा लेटर ग्रेडिङ निर्देशिका २०७२ अनुसार सार्वजनिक भएको हो । त्यससम्बन्धी निर्णय बोर्डले गत सोमबार गरेको थियो ।
यसपालि एसईई दिने विद्यार्थी पुरानो पाठ्यक्रमको अन्तिम ब्याच हुन् । त्यसैले पुरानो निर्देशिका (२०७२) अनुसार नै नतिजा प्रकाशन हुनुपर्ने निचोडमा पुगिएको हो । निर्देशिका २०७२ मा सैद्धान्तिक र प्रयोगात्मकको अंक जोडेर ३५ प्रतिशत अंक ल्याए पनि विद्यार्थी ग्रेडिङमा पर्ने व्यवस्था छ भने निर्देशिका २०७८ मा सैद्धान्तिक विषयमा अनिवार्य ३५ प्रतिशत अंक ल्याउनु पर्ने व्यवस्था छ ।
बागमती अगाडि
माध्यमिक शिक्षा परीक्षा (एसईई) मा अन्य प्रदेशको तुलनामा बागमतीको नतिजा राम्रो देखिएको छ । बागमतीमा माथिल्लो ग्रेड ल्याउने विद्यार्थीको संख्या अन्य प्रदेशमाभन्दा बढी देखिएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको नतिजा अनुसार बागमती प्रदेशमा ३.६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या ११ हजार ४८१ रहेको छ । जुन बाँकी ६ प्रदेशमा ३.६ देखि ४ जीपीएसम्म ल्याउने कुल विद्यार्थी संख्या भन्दा बढी हो । बागमतीमा कुल ९९ हजार २४३ जनाले एसईई दिएकामा ३.६ देखि ४ जीपीएसम्म ल्याउने ११.५६ प्रतिशत रहेका छन् ।
गणितमा कमजोर
राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको एसईईको नतिजाले माथिल्लो न्यूनतम औसत ग्रेड प्वाइन्ट (जीपीए) ल्याउने विद्यार्थीहरुको संख्या बढेको देखाएको छ । तर प्रयोगात्मक परीक्षा नहुने अनिवार्य गणित विषयको नजिताले शैक्षिक गुणस्तरमा सुधार भएको सरकारी दाबीमाथि प्रश्न उठाएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अधिकारीहरुका अनुसार माथिल्लो क्रमका अरु जीपीएमा पनि सुधार छ । ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ५५ हजार ६९ र २.८ देखि ३.२ जीपीए ल्याउनेको संख्या ७२ हजार ३६२, २.४ देखि २. ८ जीपीए ल्याउनेको संख्या ८९ हजार ३३१ जना रहेको छ ।
नाम, थर र जन्ममिति सच्याउन सकिने
माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रमाण पत्रमा विद्यार्थीको नाम, थर र जन्ममिति सच्याउन परेमा अबको ६ महिनाभित्र सच्याउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
‘उमेर, नाम, जात सच्याउने नियमहरू, २०१७’ अनुसार विद्यार्थीले प्रमाण पत्र पाएको ६ महिनाभित्र प्रमुख जिल्ला अधिकारी (सीडीओ) समक्ष निवेदन दिनुपर्नेछ । प्राप्त निवेदन अनुसार प्रमुख जिल्ला अधिकारीले फैसला पर्चा र सिफारिस गरेको आधारमा मात्रै बोर्डले नाम, थर र जन्ममिति सच्याउन मिल्छ ।