काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयका शैक्षिक गतिविधि निर्धारित समयमै हुनुपर्ने बताउँदै शैक्षिक क्यालेन्डर दृढतापूर्वक लागू गर्न निर्देशन दिएका छन्। मंगलबार दिउँसो त्रिभुवन विश्वविद्यालय सभाको ६४ औँ वार्षिक दिवस बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले विद्यार्थी र अभिभावकहरूको समय, खर्च र भविष्यको सुरक्षा गर्नु विश्वविद्यालयका पदाधिकारीहरूको आधारभूत दायित्व भएकोसमेत स्मरण गराएका हुन्।
बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘’विश्वविद्यालयको आफ्नो निश्चित शैक्षिक पात्रो बनाई सोहीअनुसार समयभित्रै पठनपाठन सम्पन्न गरी नतिजासमेत प्रकाशित गरी विद्यार्थी र अभिभावकहरूको समय, खर्च र भविष्यको सुरक्षा विश्वविद्यालयका पदाधिकारीहरूलाई विशेष रूपले निर्देशित गर्दछु।
उनले नेपालका विश्वविद्यालयहरूका शैक्षिक, प्राज्ञिक तथा प्रशासनिक पक्षलाई गम्भीरतापूर्वक नियालेको बताए। ‘त्रिभुवन विश्वविद्यालयको वर्तमान शैक्षिक, प्राज्ञिक तथा प्रशासनिक गतिविधिबारे मैले विभिन्न श्रोतबाट आवश्यक जानकारी हासिल गर्ने गरेको छु। यस विश्वविद्यालयले भोगिरहेका समस्याहरू, ती समस्याका कारणहरू र समाधानका उपायहरूबारे विश्वविद्यालयका पदाधिकारीज्यूहरू र सरोकारवालाहरूसँगको भेटघाट, सम्वाद एवम् विश्वविद्यालयका बिभिन्न औपचारिक कार्यक्रमहरूमा छलफल हुने र निर्णयसमेत लिने गरिएको छ। त्रिभुवन विश्वविद्यालयका तत्कालका समस्या पहिचान गरी यथासम्भव समाधान गर्ने प्रयत्न गरिरहेको कुरा यस गरिमामय सभामा उल्लेख गर्नु सान्दर्भिक नै ठानेको छु।’, उनले भने ।
हरेक वर्ष उच्च शिक्षाका लागि विद्यार्थीहरू विदेशिने क्रम किन बढिरहेको छ ?, विद्यार्थीलाई उनीहरूको रूचिअनसारका विषयहरूमा उच्च शिक्षा अध्ययन गर्न पाउने कार्यक्रमहरू ल्याउन र विदेशिन नपर्ने अवस्था सिर्जना गर्न म देशको सबैभन्दा ठूलो विश्वविद्यालयको हैसियतमा विश्वविद्यालयलाई विशेष अनुरोध गर्दछु। विश्वविद्यालयको आफ्नो निश्चित शैक्षिक पात्रो बनाई सोहीअनुसार समयभित्रै पठनपाठन सम्पन्न गरी नतिजासमेत प्रकाशित गरी विद्यार्थी र अभिभावकहरूको समय, खर्च र भविष्यको सुरक्षा विश्वविद्यालयका पदाधिकारीहरूलाई विशेष रूपले निर्देशित गर्दछु।
उनले नेपाल सरकारका तर्फबाट गर्नुपर्ने सहयोगका लागि सदैव अग्रसर रहने पनि बताए ।