February 9, 2026, Monday
२०८२ माघ २६
1:37:26 pm

अर्कैको नामबाट लोकसेवाको परीक्षा लेख्ने र लेखाउने दुवै पक्राउ

1.5K

काठमाडौं । अर्कैको नामबाट लोकसेवा आयोगको लिखित परीक्षा दिने दुई पक्राउ परेका छन् । लोकसेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नं.१३८१२/०७६–०७७ (मधेश) एकीकृत तथा संयुक्त, खरिदार वा सो सरहको बुटवल केन्द्रमा संचालन भएको लिखित परीक्षामा अर्कैको नाममा परीक्षा दिने र दिलाउने दुबैजना पक्राउ परेका हुन् ।

उक्त विज्ञापन अनुसार पहिलो पत्रको परीक्षा २०७७ फागुन २९ गते र दोश्रो र तेस्रो पत्रको लिखित परीक्षा २०७८ साउन १६ गते लिइएको थियो ।

तिनवटै लिखित पत्रको परीक्षामा परीक्षार्थी राजविराज–११ सप्तरीका ३३ वर्षीय मनोजकुमार सुतिहारको नामबाट सोही स्थानका ३० वर्षीय नारायण यादवले लोकसेवा आयोगको लिखित परीक्षाको उत्तर पुस्तिका तयार पारेका थिए ।

Advertisement

प्रहरीले परीक्षा दिने सुतिहार र परीक्षा दिलाउने यादव दुबै जनालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार सुतिहार हाल कोष तथा लेखा नियन्त्रण कार्यालय कपिलवस्तुमा सह–लेखापाल पदमा कार्यरत छन्। यादव जिल्ला हुलाक कार्यालय सप्तरीमा नायव सुब्बा पदमा कार्यरत छन्।

प्रहरीले दुबै जनालाई पक्राउ गरी लिखित सम्बन्धी कसुर अन्तर्गत मुद्धा दर्ता गरि अनुसन्धान सुरू गरेको जनाएको छ ।