April 20, 2024, Saturday
२०८१ बैशाख ८
1:37:26 pm

पाँचथरको फिदिम नगरपालिकाले स्थानीय पाठ्यक्रम लागु गर्ने

1.9K

पाँचथर । पाँचथरको फिदिम नगरपालिकाले आधारभूत तहमा स्थानीय पाठ्यक्रम लागु गर्ने भएको छ । नगरपालिकाले आगामी शैक्षिक सत्र–२०८० देखि कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागु गर्ने भएको हो ।

नगरपालिकाले चालु शैक्षिक सत्र भित्रै पाठ्यक्रम निर्माण सकेर नयाँ शैक्षिक सत्रको सुरुवातदेखि लागु गर्ने तयारी गरेको शिक्षा युवा तथा खेलकुद शाखा अधिकृत निर्मला दाहालले बताए ।

यस क्रममा शिक्षा शाखाले स्थानीय पाठ्यक्रमको आवश्यकता पहिचान र उद्देश्य निर्धारणका लागि स्थानीय सरोकारवालाहरुसँग छलफल र सुझाव संकलन गरेको छ । स्थानीय आवश्यकता, सम्भावना र स्थानीय स्रोत साधन तथा स्थानीय परिवेश सुहाउँदो विषयवस्तु समेटेर पाठ्यक्रम निर्माण गर्न लागिएको पनि निर्मला दहालले बताइन् ।

Advertisement

दहालका अनुसार पाठ्यक्रममा केन्द्रिय पाठ्यक्रमले नसमेटेका विषयसँगै कृषि, रैथाने तरकारी खेती, वनस्पतिजन्य वस्तुहरु, भाषा लिपि, जातिगत विविधता, धार्मिक ऐतिहासिक, सांस्कृतिक र भौगोलिक पहिचान, पर्यटकीय स्थलको परिचय, स्थानीय शासन व्यवस्था, प्रविधिको सुरक्षित प्रयोग लगायत महत्वपूर्ण विषयहरू समेटिनु पर्ने स्थानीय सरोकारवालाहरु सुझाव रहेको छ ।

पाठ्यक्रम निर्माण पुर्व तयारीका लागि भाषाविद हरिचन्द्र लावतीको संयोजकत्वमा समिति पनि निर्माण गरिएको छ ।
समितिमा रानिटार माविका प्रधानाध्यापक भक्तवहादुर राई, सरस्वती मावि चोकमागुका वासुदेव ढुंगाना, सिद्धदेवी मावि नागीनका रुपनारायण चापागाई महादेव गुप्तेश्वर माविका कमल वास्कोटा र शिक्षा अधिकृत निर्मला दहालसहितको ६ जना सदस्य छन् ।