काठमाडौं ः शिक्षक सेवा आयोगले शिक्षक पदको बढुवाका लागि दरखास्त आह्वान गरेको छ।
आयोगले सामुदायिक विद्यालयमा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका प्रथम र द्वितीय श्रेणीमा रिक्त पदमा बढुवाका लागि २ हजार ६ सय २२ जनाका लागि आवेदन मागेको हो।
आन्तरिक प्रतियोगितात्मक परीक्षा २५ प्रतिशत र ७५ प्रतिशत कार्यसम्पादन मूल्याङ्कनका आधारमा रिक्त प्रथम र द्वितीय श्रेणीमा शिक्षक बढुवा गर्दै पदपूर्ति गर्नुपर्ने भएकाले आवेदन माग गरिएको आयोगले आज सूचना प्रकाशित गर्दै जनाएको छ।
चैत मसान्तसम्म पाँच शैक्षिक सत्रको नोकरी अवधि पूरा गरेका सम्भाव्य उम्मेद्वारहरुबाट आजदेखि आन्तरिक प्रतियोगितात्मक परीक्षाका हकमा आयोगको वेवसाइटबाट निवेदन दिन सक्ने र कार्यसम्पादन मूल्याङ्कनका आधारमा हुने बढुवाको हकमा सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमा दरखास्त पेश गर्न आयोगले आग्रह गरेको छ।