July 29, 2021, Thursday
२०७८ श्रावण १५
1:37:26 pm

रोकिएका परीक्षाफल असारभित्रै प्रकाशन गर्दै त्रिभुवन विश्वविद्यालय

350

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसका कारण रोकिएका विभिन्न तहका परीक्षाफल यसै महिनाभित्र प्रकाशित गर्ने तयारी गरेको छ। विद्यार्थीलाई अघिल्लो तहमा नयाँ भर्नाका लागि समय मिल्ने गरी असारभित्र परीक्षाफल प्रकाशित गर्ने तयारी गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

यसअघि कार्यालयका कर्मचारीमा कोरोना संक्रमण तथा बन्दाबन्दीका कारण परीक्षाफल प्रकाशनमा समस्या देखिएको थियो। स्नातक तह तेस्रो र चौथो वर्षको परीक्षाफल प्रकाशित हुन सकेको छैन।

यसैबीच, परीक्षा नियन्त्रण कार्यालयले आगामी साउन महिनामा सञ्चालन गर्ने स्नातक तहको परीक्षाको मापदण्डबारे कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)सँग छलफल गरेर मात्र कार्यक्रम अगाडि बढाउने भएको छ।

पछिल्लो समय बन्दाबन्दी खुलेपछि कोरोनाको संक्रमणमा वृद्धि भएको र भौतिक उपस्थितिका आधारमा परीक्षा सञ्चालन गर्दा बीचमै समस्या पर्न सक्ने खतरा देखिएकाले सीसीएमसीसँग छलफल गरेर परीक्षा सञ्चालन गर्नुपर्ने अवस्था देखिएको कार्यालयले जनाएको छ। विश्वविद्यालयले साउनमा स्नातक तहको परीक्षा सञ्चालन गर्ने कार्यतालिका बनाएको छ।

परीक्षामा देशभरका दुई लाख ५० हजारभन्दा बढी विद्यार्थी भौतिक रूपमा उपस्थित हुने र यसले संक्रमण बढाउन सक्ने भएकाले पनि सरकारसँगको सल्लाहमा मात्र अघि बढ्ने विश्वविद्यालयको भनाइ छ। कार्यालयले परीक्षा  सञ्चालनका लागि बुधबार केन्द्रसँग छलफल गर्ने कार्यक्रम छ।