August 12, 2022, Friday
२०७९ श्रावण २८
1:37:26 pm

महामारीका कारण रोकिएका परीक्षा साउन पहिलो साताबाट सञ्चालन गर्ने त्रिविको तयारी

1.3K

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले कोरोना महामारका कारण यसअघि रोकिएका परीक्षा साउनभित्रै सक्ने तयारी गरेको छ। विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका रोकिएका सबै परीक्षा साउन पहिलो साताबाट सुरु गर्ने तयारी गरेको हो।

स्थगित भएका स्नातक तहका दोस्रो वर्षका वार्षिक परीक्षा साउन ५ गतेदेखि र पहिलो वर्ष (पुरानो समूह) को परीक्षा साउन १० गतेदेखि सञ्चालन गर्ने कार्यतालिका त्रिविले पास गरेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए।

विश्वविद्यालयको यो निर्णयसँगै मानविकी, व्यवस्थापन, शिक्षा र विज्ञान अध्ययन संस्थानमा स्नातक तह पहिलो वर्षको परीक्षा सञ्चालन हुनेछ ।

Advertisement

कोरोना महामारीका कारण परीक्षा स्थगित भएपछि त्रिविमा अहिले स्नातक तह प्रथम वर्षमा दुईवटा समूह छन् । स्नातक तहका यी विद्यार्थी एउटै तहमा अध्ययन गरेको २० महिना भइसकेको छ।

वार्षिक प्रणालीमा अध्ययन गरेका यी विद्यार्थीलाई पुरानै प्रणालीबाट परीक्षा लिने निर्णय त्रिविले गरेको छ। विद्यार्थीलाई परीक्षा केन्द्र छनोट गर्ने अवसर दिने निर्णय भएको परीक्षा नियन्त्रक जोशीले बताए।

विश्वविद्यालयले स्नातकोत्तर तह दोस्रो वर्षका विद्यार्थीका लागि अनलाइनबाट परीक्षा फाराम भराउने भएको छ। विद्यार्थीको परीक्षा छिटो सञ्चालन गर्न सहज होस् भनेर अनलाइन माध्यमबाट परीक्षा फाराम भर्ने व्यवस्था मिलाइएको त्रिविको भनाइ छ।