काठमाडौं– माध्यमिक शिक्षा परीक्षा (एसईई)मा विद्यालयले गर्ने आन्तरिक मूल्यांकनको कार्यविधि जेठभित्रै जारी गरिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। विद्यार्थीको आन्तरिक मूल्यांकन कसरी गर्ने भनेर नीतिगत रूपमा सहज बोर्ड कार्यविधि बनाउने तयारीमा जुटेको हो।
कार्यविधिका विषयमा छलफल भइरहेको बताउँदै बोर्डले अबको केही दिनमै सार्वजनिक गरिने जनाएको छ। गतवर्षको आन्तरिक मूल्यांकन विवादित बनेसँगै यो वर्ष कार्यविधि बनाउन लागिएको हो।
कार्यविधिले विशेषगरी विद्यार्थीको मूल्यांकनमा नम्बर कसरी दिने, विद्यालयमा यसका लागि कस्तो खालको संरचना हुने, मूल्यांकनमा को जिम्मेवार हुनेलगायत विषय स्पष्ट पार्ने जनाइएको छ ।
कार्यविधि जारी गरेपछि विद्यालयलाई विद्यार्थीको मूल्यांकनका लागि दुई साताको समय दिने बोर्डको तयारी छ। बोर्डमा देशभरका विद्यालयबाट प्राप्त विवरण अद्यावधिक गरी विद्यार्थीको अन्तिम परीक्षाफल तयारी तथा प्रकाशन, प्रमाणीकरण र प्रमाणपत्र जारी गरिनेछ ।
कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीको अन्तिम मूल्यांकन भने विद्यालयले नै गर्नुपर्ने बोर्डले जनाएको छ। सरकारले गत वर्ष नै नीतिगत निर्णय गर्दै विद्यालयलाई यो अधिकार दिइसकेको छ । कक्षा १२ को परीक्षाको विषयमा भने बोर्डले हलसम्म कुनै निर्णय गरेको छैन।