June 16, 2021, Wednesday
२०७८ असार २
1:37:26 pm

उपकुलपतिद्वारा रोकिएका परीक्षा वैकल्पिक विधिबाट लिन आग्रह

250

काठमाडौं– कोभिड–१९ को महामारीका कारण रोकिएका सबै परीक्षा वैकल्पिक विधिबाट लिन त्रिभवन विश्वविद्यालयले सम्बन्धित निकायलाई आग्रह गरेको छ।

कोरोना भाइरसको महामारीका कारण विश्वविद्यालयका स्नातकोत्तर, स्नातकसहित विभिन्न तहका परीक्षा रोकिएका छन्।

विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले एक विज्ञप्ति जारी गरी कोरोना भाइरसको महामारीका कारण उत्पन्न विषम परिवेशमा शैक्षिक गतिविधिमा असर नपार्न वैकल्पिक विधिबाट परीक्षा लिने व्यवस्था मिलाउन आग्रह गरेका हुन्।

‘यस विषम परिस्थितिसँग जुध्न आफ्नो तर्फबाट हुन सक्ने र गर्न सकिने सबै प्रकारको सहयोग अगाडि बढाउन र पठनपाठन अवरुद्ध हुन नदिनका लागि वैकल्पिक विधि मार्फत सुचारु भएका कक्षाहरुलाई निरन्तरता दिन, सञ्चालन हुन बाँकी रहेका कक्षाहरु सुचारु गर्न तथा रोकिएका परीक्षाहरु पनि वैकल्पिक विधिबाट लिन आवश्यक व्यवस्था मिलाउनका लागि सम्बन्धित सबैलाई आग्रह गर्दछु,’ उनको विज्ञप्तिमा उल्लेख छ।

साथै उनले तत्काल आ–आफ्नो विभाग, क्याम्पस, स्कूल तथा डीन कार्यालयको सम्पर्कमा आउनसमेत  पनि उपकुलपछि वास्कोटाले विद्यार्थीहरुलाई आग्रह गरेका छन्।