June 16, 2021, Wednesday
२०७८ असार २
1:37:26 pm

दुई महिनापछि धकेलिएको नयाँ शैक्षिक सत्र तोकिएको मितिमा सुरु हुने/नहुनेमा अलमल

355

काठमाडौँ – दोस्रो लहरको कोरोना सङ्क्रमण बढ्दो रहेकाले दुई महिनापछि धकेलिएको नयाँ शैक्षिक सत्र त्यहीँ मितिमा पनि हुनु/नहुनेमा अलमल बढेको छ ।

गएको वर्ष कोरोना महामारीका कारण चालु शैक्षिक सत्र २०७७ लाई जेठ मसान्तसम्म लम्ब्याएर असार १ गतेदेखि नयाँ शैक्षिक सत्र २०७८  सञ्चालन गर्ने निर्णय गरिएको थियो । तर अब यो मितिमा पनि नयाँ शैक्षिक सत्र सुरु गर्ने/नगर्नेबारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छलफल गरिरहेको छ ।

नेपालमा अहिलेसम्म कोरोनाको सङ्क्रमणका कारण ज्यान गुमाउनेकाे सङ्ख्या चार हजार आठ सय ५६ पुगेको छ भने देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख नौ हजार सात सय ४०  छ । कोरोनाको दोस्रो लहरले बालबालिकालाई झन् बढी जोखिम हुने भएकाले निषेधाज्ञा लगाउनुअघि नै शिक्षालयहरूमा भौतिक उपस्थितिको पढाइ बन्द गराइएको छ ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले नयाँ परिस्थितिबारे सरकारले निर्णय गरिनसकेको बताउनुभयो । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष लक्ष्मण शर्माले अहिलेको अवस्थामा असार १ गतेदेखि नयाँ भर्ना गर्न सम्भव नभएको प्रतिक्रिया दिनुभयो । उहाँले अनलाइनलगायत वैकल्पिक माध्यमको सिकाइका लागि शिक्षक तयार रहे पनि सबै ठाउँका विद्यार्थीसँग पहुँच नभएकाले महामारीको प्रभाव कम हुँदै गएमा आउँदाे भदौदेखि शैक्षिक सत्र सुरु गर्न सकिने बताउनुभयो ।

कोरोना सङ्क्रमणका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० र १२ को परीक्षा स्थगित भएका छन् । लकडाउनका कारण गएको वर्ष पनि भदौ महिनासम्म नयाँ भर्ना हुन सकेको थिएन ।