काठमाडौं- त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयले अनलाइनमार्फत् विद्यार्थीलाई घरमै बसेर विदेशका पुस्तक निःशुल्क पढ्ने व्यवस्था गरेको छ। पुस्तकालयले रिमोट एक्सेस प्रणालीको विकास गरेर घरमै बसेर पुस्तक, डकुमेन्ट, जर्नल पढ्न व्यवस्था गरेको हो। पुस्तकालयले रिमोट एक्सेस सेवासहितको प्रोक्वेस्ट डाटाबेस सफट्वेयर जडान गरी विदेशमा रहेका पुस्तक पढ्ने व्यवस्था गरिएको जानकारी दिएको हो।
पुस्तकालयले बेलायतबाट उक्त सफ्टवेयर ३२ लाखमा खरिद गरेको हो। पुस्तकालयले त्रिविअन्तर्गतका आङ्गिक क्याम्पस र पुस्तकालयसँग सम्झौता गरेका अन्य विश्वविद्यालयका विद्यार्थीलाई प्रोक्वेस्ट डाटाबेस सफट्वेयरबाट निःशुल्क रुपमा पुस्तक पढ्ने व्यवस्था गरिएको पुस्तकालयका प्रमुख पूर्णलाल श्रेष्ठले जानकारी दिए।
विदेशी लेखकले प्रकाशित गरेका पुस्तक, जर्नल, लेखरचनालगायत निःशुल्क पढ्नका लागि विद्यार्थीले पुस्तकालयको वेबसाइटमा उपलब्ध फारम भर्नुपर्ने हुन्छ। सोही फाराम भरेका आधारमा विद्यार्थीको इमेल आइडी उपलब्ध गराई पुस्तकालयले विदेशी पुस्तक, डकुमेन्ट, जर्नललगायत पढ्न पाउने व्यवस्था गरेको उनले जानकारी दिए।
गत मङ्सिरबाट सुरु भएको रिमोट एक्सेस प्रणालीमा अहिले ३० हजार विद्यार्थीको इमेल आइडी बनाइएको छ। पुस्तकालयका सूचना अधिकारी विजय शर्माले विद्यार्थीलाई घरमै बसेर विदेशका प्रसिद्ध लेखकले लेखका सामग्री पढ्न पाउने बताए।
उनका अनुसार उक्त रिमोट एक्सेसमार्फत् प्रोक्वेस्ट डाटाबेसमा राखिएका चार लाख ५० हजारभन्दा बढी ई-पुस्तक, ५० लाखभन्दा बढी ई-थेसिस डिजर्टेसनका साथै हजारौँ शीर्षकका जर्नल, पत्रिका र लेख, रचना रहेका छन्।
उक्त सेवाका लागि नेपाल खुला विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, हेटौँडा कलेज अफ सोसल साइन्सेस, सगरमाथा इञ्जिनियरिङ कलेज, बानेश्वर बहुमुखी क्याम्पस संस्थागतरुपमा पुस्तकालयले खरिद गरेको डाटाबेससँग जोडिएका छन्।
यस्तै, पुस्तकालयले पछिल्लो समय एसियन विकास बैंक र नेसनल डिजिटल लाइब्रेरी अफ इन्डियासँग ई–रिसोर्सेसको प्रयोगमा सम्झौता र सहकार्य गरेको छ। उक्त सम्झौतानुसार एसियन विकास बैंकसँग रहेका तीन लाख रिर्सोस पुस्तक र डिजिटल लाइब्रेरीसँग रहेका चार करोड ५० लाख ई–पुस्तकालय, जर्नल, थेसिस, अडियो, भिडियोसमेत निःशुल्क पढ्न पाउने सूचना अधिकारी शर्माले जानकारी दिए। अहिले पुस्तकालयसँग चार लाख १० हजार पुस्तक छन्।
छुट्टै ई–पुस्तकालय
प्रविधिको युगसँगै पुस्तकालयले आफ्नै छुट्टै ई–पुस्तकालयको डाटाबेस बनाउने योजना पनि अगाडि बढाएको पुस्तकालयका प्रमुख श्रेष्ठले जानकारी दिए।
उनले स्नातकोत्तर तह, दर्शनाचार्य र विद्यावारिधि तहका शोधपत्रलाई अनलाइनमा राखी ई–पुस्तकालय निर्माणको शुरुआत गरेको छ। अहिलेसम्म दुई हजार शोधपत्र डिजिटलाइज गरिएको छ। पुस्तकालयले छिट्टै पुस्तक, थेसिस, डिजर्टेसन, जर्नल, रिपोर्ट तथा ऐतिहासिक दस्तावेजसहितको आफ्नै छुट्टै डिजिटल डाटाबेस बनाउने उनको भनाइ छ।