July 29, 2021, Thursday
२०७८ श्रावण १४
1:37:26 pm

भागरथी हत्या घटनाको अनुसन्धानमा लापरबाही नगर्न कांग्रेस महिला विभागको माग

445

काठमाडौं- नेपाली कांग्रेसको महिला विभागले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या घटनाको अनुसन्धानमा कुनै लापरबाही नगर्न चेतावनी दिएको छ। भट्टको बलात्कारपछि हत्या भएको भन्दै विभागले घटनाको निष्पक्ष छानबिन गरी अपराधीलाई हदैसम्मको सजाय गर्न सरकारसँग माग समेत गरेको छ।

माघ २१ गते विद्यालयबाट घर फर्किने क्रममा लबलेक सामुदायिक वनको झाडीमा मृत फेला परेकी भागरथीको परिवारलाई उचित क्षतिपूर्ति पनि विभागले माग गरेको छ।

घटनाको सत्यतथ्य पत्ता लगाई पीडितलाई न्याय दिलाउन खबरदारीका निम्ति नेपाली कांग्रेस जिल्ला कार्यसमिति बैतडीसँग समन्वय गरी स्थलगत अवलोकनसहित आवश्यक कार्य गर्ने गरी केन्द्रीय महिला विभागका सदस्य राधिका सिहंलाई खटाएको छ। 

किशोरी भागरथीको बलात्कारपछि हत्या गरिएको आशंका गरिएपनि पोस्टमार्टम रिपोर्ट आइनसकेकाले यकिन नभएको प्रहरीले जनाएको छ।