काठमाडौं । मधेसका पूर्व प्रदेश प्रमुख राजेश झा अहिराजलाई प्रहरीले पक्राउ गरेको छ । बानेश्वरमा एक युवतीमाथि बलात्कार गरेको आरोपमा अहिराजलाई आइतबार प्रहरील पक्राउ गरेको हो ।
उनलाई आइतबार नै जिल्ला अदालत काठमाडौंमा पेस गरी म्याद समेत थप भइसकेको प्रहरीले जनाएको छ । उनीमाथि अनुसन्धान गर्न अदालतले पाँच दिनको अनुमति दिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंमा अहिराजविरूद्ध गत माघ ३ गते जाहेरी दर्ता भएको थियो । जाहेरी दर्ता गरे पनि प्रहरीले अहिराजविरूद्ध अदालतबाट पक्राउ अनुमति लिएको थिएन ।
गत २०८१ जेठ ४ गते उक्त घटना घटेको भनी उजुरी परेको थियो । त्यस दिन अहिराजले आफ्नो कोठामा कोही नभएको बेलामा पटकपटक बलात्कार गरेको आरोप छ । उक्त घटनापछि पनि कसैलाई बताएपछि मार्ने समेतको धम्की दिएको पीडितको भनाइ छ । बलात्कारको घटना भएको केही समयपछि पीडित जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेकी थिइन् ।
पीडितले जाहेरी दर्ता गर्न खोजेपनि प्रहरीले नगरेको आरोप छ । पटकपटक प्रयास गर्दा पनि दर्ता गर्न इन्कार गरेपछि पीडित युवती जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पुगेकी थिइन् ।
उनले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा कात्तिक २८ गते जाहेरी निवेदन दिएकी थिइन् ।