November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

भोजपुरमा ज्वाइँद्धारा १५ वर्षीया श्रीमतीसहित ससुरालीका चारजनाको हत्या

सहयात्री उमेश बान्तावा
२०८२ असार २२

2.2K

भोजपुर । भोजपुरमा एकै परिवारका चार सदस्यको हत्या भएको छ । जिल्लाको रामप्रसादराई गाउँपालिका –२ धोदलेखानी बोन्थिताङमा गएराति चारजनाको सामूहिक हत्या भएको पुष्टि भएको हो । प्रहरीका अनुसार हत्या गर्ने व्यक्ति ती परिवारका ज्वाइँ रहेका छन्।

समाजसेवी तथा माओवादी नेता सन्जिव राईद्वारा प्राप्त जानकारी अनुसार, भोजपुर नगरपालिका–२ हेलौचा घर भएका ३० वर्षीय राजेन्द्र राईले आफ्ना ससुरा, सासु, श्रीमती र सालोलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन्। हत्यापछि उनले आफैँलाई पनि छुरा प्रहार गरी घाइते बनाएका छन्।

मृतकहरूमा ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासु मञ्जु गिरी, १५ वर्षीया श्रीमती मनिषा गिरी र ९ वर्षीय सालो सयन गिरी रहेका छन्। घटनापछि ज्वाइँले आफैं स्थानीय प्रहरी चौकीमा सम्पर्क गरी हत्या स्वीकार गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

Advertisement

सूचना प्राप्त हुनेबित्तिकै मानेभञ्ज्याङ प्रहरी चौकीबाट सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ खटिएको छ। हाल प्रहरीले सर्जमिन मुचुल्का गर्ने प्रक्रिया अगाडि बढाएको छ।

हत्यामा संलग्न रहेका राजेन्द्र राई गम्भीर घाइते अवस्थामा भोजपुर अस्पतालमा उपचाररत छन्।

घटनाको कारण अहिलेसम्म खुल्न नसकेपनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यस हृदयविदारक घटनाले स्थानीय समुदायमा स्तब्धता छाएको छ।

‘घटना निकै हृदयविदारक र स्तब्ध पार्ने भएकोले स्थानीय बासिन्दा आक्रोशित र त्रसित अवस्थामा छन् । घटनाको यथार्थ छानबिन तथा अपराधीमाथि कानुनी कारवाही गर्न आम नागरिकले माग गरेका छन्’, नेता राईले बताए ।