विराटनगर । झापामा भाइको हत्या गरेको आरोपमा दाइ पक्राउ परेका छन् । गएराति झापाको शिवसताक्षी- ८ शितल चोकमा ४२ वर्षीय रामप्रसाद सिटौलाको शव फेला परेको थियो । उनको हत्या आरोपमा मृतकका दाजु नारायण सिटौलालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
घटनापछि अनुसन्धानका लागि मृतकका दाजु सिटौलालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।
मृतकको शवलाई पोस्टमार्टमको लागि दमक अस्पताल पठाइएको प्रहरीले जनएको छ ।
गएराति करिब ९ बजे घरको पछाडिपट्टी उतानो परेको अवस्थामा रामप्रसादको शव फेला परेको थियो। उनको टाउकोमा चोट देखिएको छ। दाउराले प्रहार गरी हत्या गरेको हुनसक्ने आशंका गरिएको छ।
घटनास्थल वरिपरी दाउरा छरिएको र रगत लतपतिएको थियो। उनलाई सुतेकै ठाउँमा दाउराले हानेको हुनसक्ने बताइएको छ।
दुवै दाजुभाइले मादक पदार्थ सेवन गरी झगडा गरेको र नारायणले भाइलाई दाउराको चिर्पटले हानेर हत्या गरेको हुनसक्ने आशंका छ।
तीन जना दाजुभाइमध्ये मृतक रामप्रसाद माहिला हुन्।