काठमाडौं । भिजिट भिसामा कुवेत पुर्याई मानव बेचबिखन गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका–३ बस्ने ३२ वर्षीय ङेमा लामा रहेका छन् ।
पीडितको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई सोमबार काठमाडौं गोकर्णेश्वर नगरपालिका–६ बाट पक्राउ गरेको हो ।
लामाले आफ्नो श्रीमती समेत कुवेतमा रहेकोले वर्किङ भिसामा क्लीनरको काममा लगाई दिने प्रलोभन देखाई पीडितबाट ९५ हजार रूपैयाँ लिई २०८० कात्तिक ५ गते भिजिट भिसामा कुवेत पु¥याएको, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र कुवेतको एयरपोर्टमा देखाउने कागजातहरू समेत झुठ्ठा र फरक–फरक बनाई पठाएको, कुवेतको एयरपोर्टमा पुगे पश्चात पीडितलाई लामाको श्रीमतीले रिसिभ गरी कुवेती नागरिकको घरमा १ हजार १ सय ५०
कुवेती दिनारमा बेचबिखन गरेको र कुवेती नागरिकले पीडितलाई बन्धक बनाई घरेलु कामदारको रूपमा राखी पारिश्रमिक समेत नदिई यौन शोषण तथा चरम श्रम शोषण गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।
उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।