काठमाडौं । तपस्वी रामबहादुर बम्जन बालयौन शोषण कसुरमा दोषी ठहर भएका छन् । उनलाई सर्लाही जिल्ला अदालतले दोषी ठहर गरेको हो ।
उनलाई सोमबार जिल्ला न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले दोषी ठहर गर्दै सजाय निर्धारणका लागि असार १७ मा पेसी तोकेको छ ।
सर्लाही अदालतका न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले गत पुस २६ मा पुर्पक्षका लागि कारागार चलानको आदेश दिएपछि बम्जन हाल महोत्तरी कारागार जलेश्वरमा छन् ।
सोही मुद्दाका आरोपित जितबहादुर तामाङ र ज्ञानबहादुर बम्जनले भने सफाइ पाएका छन् । पीडितले २०७३ सालमा आश्रममा रहेको बेला बम्जनले आफूलाई बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् ।
२०७६ माघ २३ मा जिल्ला प्रहरी कार्यालय मलंगवामा बम्जनविरुद्धपीडित बालिकाको परिवारले किटानी जाहेरी दिएको थियो । अभियुक्त बम्जनविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले १२ देखि १४ वर्षसम्म कैद सजाय एवं पीडित परिवारलाई क्षतिपूर्तिको समेत मागदाबी गरेको छ ।
बम्जनविरुद्ध सर्लाही अदालतले २०७७ असार २१ मा पक्राउ पुर्जी जारी गरेको थियो । लामो समयसम्म फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गत पुस २४ मा बूढानीलकण्ठबाट पक्राउ गरेको थियो ।