भक्तपुर । काभ्रेपलाञ्चोक जिल्लाको महाभारत गाउँपालिकाको वडा नं ४ स्थित तीनखुट्टेमा भएको दम्पती हत्यामा संलग्न एक जना व्यक्ति पक्राउ परेका छन् ।
दम्पती हत्या गरेको आरोपमा सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं १ घर भई बलेफी गाउँपालिका वडा नं १ बस्दै आएका ३८ वर्षीय एकेन्द्र सार्कीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।
पक्राउ परेका एकेन्द्रले २०८१ जेष्ठ महिना ७ गते राती तीनखुट्टेस्थित जस्ताले बरेको २ वटा टहरामा बस्दै आएका स्थानीय ६१ वर्षीय मानबहादुर बल र ६१ वर्षीया केकैमाया तामाङ्नीलाई फलामको रडले हानी हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।
उनी तिनखुट्टेमा सडक मजदुरको रुपमा कार्यरत थिए । पारिवारिक रुपमा आर्थिक अवस्था कमजोर भएको र आर्थिक संकटमा परेको कुरा उनले सोधपुछको क्रममा बताएको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार, आर्थिक समस्या टार्नको लागि उनले दम्पत्तिको हत्यागरी पैसा र गहना लुटेको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो । अनुसन्धान गर्दै जाँदा उनलाई प्रहरीले २०८१ जेष्ठ १६ गते पक्राउ गरेको थियो ।
पक्राउ गरेको एकेन्द्रलाई ज्यानसम्बन्धी कसुर मुद्दामा काभ्रेपलाञ्चोक जिल्लाबाट म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।