काठमाडौं । साउदी रियाल देखाई ठगी गरेको अभियोगमा तीनजना पक्राउ परेका छन् । साउदी रियाल देखाई १४ लाख २१ हजार ५ सय रूपैयाँ ठगी गरी फरार रहेको अभियोगमा ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा सिन्धुली दुधौली नगरपालिका–१२ जिनाखु घर भएका ३५ वर्षीय दिपक तामाङ, ४९ वर्षीय टेक बहादुर घिसिङ र ३६ वर्षीय निर बहादुर तामाङ रहेका छन् ।
प्रहरीका अनुसार रामेछाप घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–५ हरियालीनगर बस्ने ५८ वर्षीया महिला समेतका मानिसहरूलाई साउदी रियाल देखाई फाईदा हुने प्रलोभनमा पारी
सुनका विभिन्न गरगहना तथा नगद समेत गरी जम्मा १४ लाख २१ हजार ५ सय रूपैयाँ बराबरको धनमाल ठगी गरी फरार रहेको अनुसन्धानको क्रममा खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय भक्तपुर र वौद्धको संयुक्त प्रहरी टोलीले काठमाडौं गोकर्णेश्वर नारायणटारबाट पक्राउ गरेको हो ।
उनीहरूबाट साउदी अरेबियाको रियाल १ सय दरको २ थान, नेपाली रूपैयाँ १० दरको १ सय थान, प्रदेश १–०५–००१ प ८०३७ नम्बरको मोटरसाइकल १ थान, बा.४६ प ९७७५ नम्बरको स्कुटर १ थान र मोबाईल ३ थान बरामद भएको छ ।
उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त वौद्ध पठाइएको प्रहरीले जनाएको छ ।