काठमाडौं । महिलाहरूसँग शारीरिक सम्बन्ध राखेको भिडियो र फोटो खिचेर सार्वजनिक गर्ने धम्की दिँदै पैसा असुल्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा म्याग्दीको म्याग्दी नगरपालिका–५ बस्ने ३० वर्षीय सन्तोष किसान रहेका छन् ।
प्रहरीका अनुसार काठमाडौंको नयाँ बसपार्क बस्दै आएका किसानले सामाजिक सञ्जालमार्फत महिलाहरूसँग सम्पर्क गर्दै सम्बन्ध स्थापित गर्ने, त्यसपछि भेटघाट गरी विभिन्न प्रलोभन देखाई शारीरिक सम्बन्ध राख्थे ।
किसानले गोप्यरुपमा शारीरिक सम्बन्ध राखेको भिडियो र फोटो खिच्ने गरेको अनुसन्धानका क्रममा पाइएको प्रहरीले जनाएको छ। त्यसपछि उक्त फोटो र भिडियो पीडित महिलाको आफन्तहरूलाई पठाइदिन्छु भन्दै धम्की दिएर पैसा माग्थे । उनले महिलालाई पुनः शारीरिक सम्बन्ध स्थापित गर्न बाध्यसमेत पार्ने गरेका थिए ।
उनलाई आपराधिक लाभ लिने कार्यमा संलग्न रहेको उजुरीको आधारमा किसानलाई गत जेठ १४ गते काठमाडौंको कोटेश्वरबाट पक्राउ गरिएको थियो । उनलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।




