विराटनगर । सुनसरीको धरान उप–महानगरपालिका– १६ की २१ बर्षीया सुमना श्रेष्ठको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उनकै प्रेमी धरान उप–महानगरपालिका– १७ का १९ बर्षीय सविन भन्ने बाबुराम भुजेल रहेका छन् ।
गत चैत ७ गते वि.पि. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कूलबिच रहेको खोल्सामा पहिचालन नखुलेकी महिला मृत अवस्थामा फेला परेकी थिईन् । प्रहरीका अनुसार घटनाको जानकारी पाएसगै जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय धरान, नेपाल प्रदेश प्रहरी कार्यालय धरानबाट तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली र वि.पि. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट फरेन्सिक डाक्टरसहितको टोली घटनास्थलमा खटिगई घटना सम्बन्धमा प्रारम्भिक अनुन्धान थालेको थियो ।
अनुसन्धानको क्रममा उक्त लास धरान उप–महानगरपालिका– १६ की २१ बर्षीया सुमना श्रेष्ठ रहेकी खुल्न आए थियो । घटनाको प्रकृति हेर्दा मृतक सुमना श्रेष्ठको हत्या भएको देखिए पछि प्रहरीले सुक्ष्म रुपमा अनुसन्धान थालेको थियो । अनुसन्धानको क्रममा भुजेल पक्राउ परेका हुन् ।
मृतक श्रेष्ठ र भुजेलबीच करीब २ बर्षदेखि प्रेम सम्बन्धमा थिए । बिस्तारै सम्बन्धमा खटपट हुँदै गएपछि चैत्र ६ गते भुजेल मृतक श्रेष्ठलाई भेट्न धरान आएका थिए । उनले भेटघाट गरी आफ्नै स्कुटरमा श्रेष्ठलाई राखी स्कुटर चलाउन सिकाउदै जाने क्रममा उनीहरूबिच फेसबुक प्रयोगको बिषयमा विवाद भयो । त्यसपछि भुजेलले श्रेष्ठलाई खुकुरीले घाटी रेटी हत्या पश्चात खोल्सामा फाली भागेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।
भुजेललाई धनकुटा नगरपालिका–९ मुलघाटबाट लुकिछुपी बसेको अवस्थामा फेला पारी गत बिहीबार पक्राउ गरेको हो । घटना सम्बन्धमा थप अनुसन्धान तथा कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।