काठमाडौं । तपस्वी रामबहादुर बम्जनविरुद्ध यौन शोषणको मुद्दा हालेकी किशोरीको बुबाको दुर्घटनामा मृत्यु भएको छ ।
सिन्धुलीको कमलामाई नगरपालिका-९ कोरुङखोलामा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा किशोरीका बुबा गम्भीर घाइते भएका थिए । घाइते उनको उपचारका क्रममा जिल्ला अस्पताल, सिन्धुलीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मदन भण्डारी राजमार्गमा डकाहाबाट भिमानतर्फ आउँदै गरेको प्र. २-०४-००१ त ००१० नम्बरको ट्याक्टरले विपरीत दिशा रौतहटबाट डकाहातर्फ जाँदै गरेको बा ५८ प ९१४१ नम्बरको मोटरसाइकल र सोही दिशा रौतहटबाट डकाहा तर्फ जादै गरेको ना ११ प ५७५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट बा ५८ प ९१४१ नम्बरको मोटरसाइकल चालक रौतहटका ६३ वर्षीय किशोरीको बुबाको मृत्यु भएको हो । यद्यपि उनी किशोरीकै बुबा हुन् हैनन् भन्ने पुष्टि हुन बाँकी रहेको प्रहरीको भनाइ छ ।
दुर्घटनामा टाउको र अनुहारमा चोट लागेर गम्भीर भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल सिन्धुलीमा राति साढे १० बजे मृत्यु भएको हो ।
मृतक तपस्वी रामबहादुर बम्जनविरुद्ध एक किशोरीले सर्लाही जिल्ला अदालतमा बाल यौन शोषणको मुद्दा हालेकी थिइन् । उनले केही दिनअघि मात्रै बम्जनले गरेको यौन शोषणबारे अन्तर्वार्ता दिएका थिए । उनी षड्यन्त्रमा मारिएको हुन सक्ने आफन्तको आशंका छ ।
ना ११ प ५७५० नम्बरको मोटरसाइकल चालक मकवानपुरको गढी नगरपालिका-२ बस्ने बर्ष ६३ को विष्णुबहादुर थिङको दाहिने खुट्टामा सामान्य चोट लागेर घाइते भएका छन् ।
दुवै मोटरसाइकल, ट्रयाक्टर र ट्याक्टर चालकलाई ईलाका प्रहरी कार्यालय भिमानले नियन्त्रणमा लिएर राखेको छ ।
५ वर्षदेखि फरार रहँदै आएका बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २५ पुसमा पक्राउ गरेको थियो । जिल्ला अदालत, सर्लाहीको आदेशपछि उनी पुर्पक्षका लागि थुनामा छन् ।