काठमाडौं । महिलाको चरित्रहत्या गर्ने एक व्यक्ति पक्राउ परेका छन् । प्रेममा पर्दा खिचिएको तस्वीर तथा भिडियोहरू सामाजिक संजालबाट सम्प्रेषण गरि चरित्रहत्या गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गोरखा जिल्ला भिमसेनथाला गाउँपालिका वडा नम्बर २ स्थायी वतन भई हाल जिल्ला काठमाडौं, तारकेश्वर नगरपालिका वडा नम्बर ४, बस्ने वर्ष-२४ को भिमसेन भट्ट रहेका छन् ।
रोजगारीको सिलसिलामा चिनजान भई प्रेम सम्बन्धमा रही, समय समयमा भेटघाटको क्रममा दुईबीच भएका क्रियाकलापको तस्विर तथा श्रव्य दृश्य सम्पादन गरी, सामाजिक सञ्जाल मार्फत क्षद्म (फेक) प्रोफाईल बनाई फेसबुक तथा ह्वाट्सएपमार्फत सम्प्रेषण गरी चरित्रहत्या गर्नुका साथै दुःख, हैरानी दिने गरेकोले उक्त कार्यमा संलग्न व्यक्तिलाई पत्ता लगाई कारबाही गरी पाउँ भन्ने पीडितको आफन्तले ब्यूरोमा दिएको निवेदनको आधारमा भट्टलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
भट्टलाई विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसूरमा माघ ७ गते काठमाडौं महानगरपालीका वडा नं. २७ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप भई थप आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।