काठमाडौं । बारा प्रहरीले भारतीय सुटर समूहका एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले बाराको पचरौता नगरपालिक-६ नेपाल-भारत सीमा नजिक बेल्दारी गाउँको लक्ष्मीनिया पोखरी नजिक एक भारतीय युवकलाई गोली हानी हत्या गरेको आरोपमा युवकलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारत बिहार राज्यको मोतिहारी जिल्ला दर्पा थानाअन्तर्गतका सुकलहिया गाउँका २२ वर्षीय रूपेश महतो रहेका छन् ।
आइतबार पक्राउ परेका महतोले गत असोज ९ मा सुकलहियाकै २२ वर्षीय अजितकुमार सिंहलाई भारतबाट मोटरसाइकलमा नेपाल तर्फ ल्याएर हत्या गरेको आरोप छ ।
पक्राउ परेका रूपेशलाई बारा जिल्ला अदालतबाट म्याद थप गरी कलैयास्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
विशेष सुराकीको सूचनाको अधारमा रूपेशलाई पक्राउ गरिएको हो ।
अजितलाई उनकै श्रीमतिकी मिलेमतोमा हत्या गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । अजितकी श्रीमतीसमेत पक्राउ परिसकेकी छिन् । अजित र उनकी श्रीमती बाराको सिम्रौनगढ बजारमा कोठा भाडा लिएर बस्दै आएका थिए । उनीहरू प्रेम विवाह गरेर नेपाल बस्दै आएका थिए । अजित आफ्नो घर भारतमा गएको बेला भारतबाटै सुटर समूहले नेपालमा ल्याइ हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।