काठमाडौं । सल्यानमा सासुको हत्या गरेको आरोपमा बुहारी पक्राउ परेकी छन् । जिल्लाको सिद्धकुमाख गाउँपालिका ४ खार्पनकी ४९ वर्षीया गणेशी रोकाको हत्याको गरेकी १८ वर्षीया बुहारी सर्मिला बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको हो ।
रोका गत असोज १८ गते बिहान घरभित्रै खाद्यान्न राख्ने काठको भकारोमा मृत अवस्थामा फेला परेकी थिइन् ।
भकारीमा मृत भेटिँदा घटना शंकास्पद भएपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा र पोष्टर्माटम रिपोर्टमा समेत हत्या भएको खुलेपछि सर्मिलालाई घरबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकी सर्मिलालाई अहिले प्रहरीको हिरासत कक्षमा राखिएको र जिल्ला अदालतबाट म्याद थप गरिएको प्रहरीले जनाएको छ ।
सर्मिलाले गत वैशाखमा मात्र गणेशी रोकाको छोरा २१ वर्षीय अमर रोकासँग बिहे गरेको खुलेको छ । सासुले गाली गलौज गरेकै कारण आवेशमा आएर टाउको र छातीमा दाउरा प्रहार गरेको र सल घाँटीमा बेरेर मारेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।
१५ गतेदेखि आमा हराएको भन्दै गणेशी रोकाकी छोराछोरीले प्रहरीमा उजुरी दिएपछि खोज्दै जाँदा खाद्यान्न राख्ने भकारीमा १८ गते बिहान गन्हाउने तथा गल्न थालेको अवस्थामा शव फेला परेको थियो ।