मेयङ्लुङ । तेह्रथुममा सुँगुरको खोरमा गाडेको अवस्थामा एक महिलाको शव फेला परेको छ । आठराई गाउँपालिका १ डाँडागाउँकी २६ वर्षीया रेशिका श्रेष्ठको शव उनकै पसल पछाडिको खोरमा फेला परेको हो ।
प्रहरीका अनुसार श्रेष्ठ गत मंगलबार साउन १४ गतेदेखि हराइरहेकी थिइन् । श्रीकृष्ण मावि डाँडागाउँको क्यान्टिन संचालन गर्दै आएकी उनी पसलबाटै हराएको भन्दै इलाका प्रहरी कार्यालय संक्रान्ती बजारमा खोजतलासका लागि निवेदन दिएका मृतकका श्रीमान राजकुमार गत साउन २४ गते बिहानैदेखि सम्पर्कविहीन थिए ।
प्रहरी, स्थानीय र माइती पक्षले शनिबार खोजी कार्य तीव्र बनाउँदा उनको शव खोरभित्र गाडेको अवस्थामा फोला परेको हो । घटनास्थल र शवको प्रकृति हेर्दा श्रीमानमाथि शंका उब्जिएको र राजकुमारमाथि अनुसन्धान सुरु गरेको तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।