जुम्ला । दलितले आफ्नी बहिनीलाई प्रेम बिहे गरेको निहुँमा एक युवकले घर नै जलाइदिएको घटनाको छानविन गर्न माग गर्दै नेपाल दलित मुक्ति संगठनले एक प्रेस विज्ञप्ति जारी गरेको छ । सोमबार संगठनका अध्यक्ष गणेश विकले जारी गरेको विज्ञप्तिमा घटनाप्रति आपत्ति जनाउँदै तत्काल छानविन गरी दोषी उपर कारवाहीको माग गरेको छ ।
संगठनले जुुम्लाको घटनाको तत्काल छानवीन गर्न, दोषीलाई कार्वाही गर्न र पीडितलाई क्षतिपूर्ति दिनुपर्ने माग राख्दै विज्ञप्ति जारी गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘जुम्ला जिल्लाको तातोपानी गाउँपालिका वडा नंबर ४ गिडीखोलाका २१ वर्षीया मुकुन्द नेपाली र स्थानीय गैरदलित वसन्ती गिरीबीचको प्रेम सम्बन्धलाई लिएर यही २०८० असार १५ गतेका दिन मकुन्दको घरमा आगजनी गरिएको घट्नाले स्तब्ध बनाएको छ । नेपाल दलित मुक्ति संगठनका केन्द्रीय सचिवालय सदस्य कमरेड मानसिंह सुनारका अनुसार मुकुन्द नेपालीको घरमा केटीपक्षका मान्छेहरु आई आगजनी गरेका थिए उक्त आगजनीबाट मुकुन्दको घर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । गिडीखोलाको उक्त बस्तीमा २८ घरधुरी दलित समुदाय पूर्ण रुपमा आतंकित भएका छन् । यसरी जातीयताका आधारमा गरेको अत्याचारको हाम्रो संगठन घोरभत्र्सना गर्दछ । हाल जुम्लास्थित दलित राजनीतिक संगठनहरु नेपाल दलित मुक्ति संगठन, नेपाल दलित मुक्ति मार्चा, नेपाल उत्पीडित जातीय मुक्ति समाज, नेपाल दलित संघ तथा स्थानीय संघ संस्थाहरुको सहयोगमा पीडित भरतले घरमा आगजनी गर्ने विरुद्ध स्थानीय प्रहरी चौकी हाँकुमा निवेदन दिएका आधारमा आगजनी गर्ने हिम्मत गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कुनै पनि व्यक्तिले कानून विपरित काम गरे कानूनअनसार कार्वाहीका लागि अघि बढ्न सकिन्छ तर यसरी घरमा आगजनी गर्ने गम्भिर अत्याचार गर्नु खेदजनक घट्ना हो । त्यसैले सर्वप्रथम वेपत्ता रहेका मुकुन्द नेपाली र बसन्ती गिरीको खोजी गर्न र आगजनी गरिएको घरको ६५ लाख बढीको क्षेतिपूर्ति दिन र गिडीखोला बस्तीका २८ घरधुरी दलितको सुरक्षा प्रदान गर्न गर्न जोडदार माग गर्दछौं ।’
श्रृङ्खलाबद्ध रुपमा दलितहरु माथि जातीय आधारमा घट्ने घटाइने यस्ता अत्याचारपूर्ण भएको भन्दै यस्ता घटनालाई राज्यले स्वाभाविक रुपमा नलिई तत्काल विशेष कदम चाल्न संगठनले माग गरेको छ । ‘कर्णाली प्रदेशमा यस अघि प्रेम गरेको आरोपमा कालिकोटकी जनप्रतिनीधि माया सार्की, चुल्हो छोएको नाममा हत्या गरिएका करविर सुनार, अन्तरजातीय विवाह गरेको आरोपमा हत्या गरिएका दैलेखका सेते दमाइ तथा अन्तरजातीय विवाहकै कारण रुकुमपश्चिमका नवराज विकलगायत ६ जनाको नरसंहार पछि यो अमानवीय घट्ना घटेको छ । यसरी श्रृङ्खलाबद्ध रुपमा दलितहरु माथि जातीय आधारमा घट्ने घटाइने यस्ता अत्याचारपूर्ण घट्ना राज्यले स्वाभाविक रुपमा नलिई तत्काल विशेष कदम चाल्न माग गर्दछौं ।’, विज्ञप्तिमा भनिएको छ ।
तातोपानी-४ गिडीखोला जुम्लामा २१ वर्षीय मुकुन्द नेपालीको घरमा आगजनी गरेको आरोपमा आइतबार स्थानीय २१ वर्षीय युवालाई प्रहरीले पक्राउ गरेको छ ।