दाङ । आफ्नै नातीलाई छोरा बनाइ नागरिकता बनाइदिँदा दाङमा प्रहरीले किर्ते नागरिकता कसुरमा ८ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दाङको राजपुर गाउँपालिका–५ हथिया बस्ने ५६ वर्षीय ज्ञानबहादुर विश्वकर्मा, नागरिकता लिने १९ वर्षीय विवेक विश्वकर्मा, जन्मदर्ता बनाउँदा साक्षी बस्नेहरू ५२ वर्षीया सवित्राकुमारी विश्वकर्मा, ३५ वर्षीय गौसरी बोहरा, ४६ वर्षीया बुधिमाया घर्ती, ३६ वर्षीय मनकुमारी घर्ती, ५६ वर्षीया जोगिनी विश्वकर्मा र १९ वर्षीया रमेश घर्ती रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
प्रहरीअनुसार ज्ञानबहादुर र उनकी श्रीमती जोगिनीले आफ्नो छोरीको छोरा १९ वर्षीय नाति विवेक विश्वकर्मालाई छोरा कायम गरी गत वैशाख २७ गते जन्मदर्ताको प्रमाणपत्र बनाएका थिए।
सोही जन्मदर्ताको आधारमा राजपुर गापा–५ को कार्यालयबाट नेपाली नागरिकताको प्रमाणपत्र बनाउन सिफारिस वैशाख २८ गते इलाका प्रशासन कार्यालय लमही दाङबाट बुवा ज्ञानबहादुर विश्वकर्मा र आमा जोगिनी विश्वकर्मा कायम गरी विवेक विश्वकर्माको नाममा नेपाली नागरिकता जारी भएको थियो।
ज्ञानबहादुरले आफ्नो छोरीको छोरा विवेकलाई आफ्नै छोरा भनी किर्ते हस्ताक्षर गरेर नागरिकता बनाइदिएको उजुरी जिल्ला प्रशासन कार्यालय दाङमा परेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी राजन कुमार गौतमले जानकारी दिए। डीएसपी गौतमका अनुसार राजपुर गापाका टङ्कबहादुर विष्ट र वडा सचिव फरार रहेका छन्।
पक्राउ परेका ८ जनालाई अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको उनले बताए। पक्राउ परेका ८ जनामाथि अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको उनले जानकारी दिए।