February 9, 2026, Monday
२०८२ माघ २६
1:37:26 pm

नक्कली भुटानी शरणार्थी प्रकरण: ३२ जनामाथि मुद्दा चलाइने

1.1K

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूलाई राज्यविरुद्धको अपराधसहित कम्तीमा चार कसुरमा मुद्दा चल्ने भएको छ । पक्राउ पूर्वउपप्रधानमन्त्री र पूर्वगृहमन्त्रीसहित १६ जना र फरार १६ गरी ३२ जनामाथि राज्यविरुद्धको अपराध, संगठित अपराध, ठगी र किर्तेसम्बन्धी कसुरमा मुद्दा चलाउने भएको हो ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अनागरिक बनाउने गरी अपराधमा संलग्न हुने, सरकारी गोप्य दस्ताबेज नै साटफेर गरी गिरोहलाई दिने, सरकारी कागजात किर्ते गरी नक्कली प्रतिवेदन खडा गर्ने, अवैध रूपमा नागरिकलाई विदेश पठाउन खोज्नेलगायत अपराधमा आकर्षित हुने सबै कसुरमा मुद्दा दायर गर्ने तयारी रहेको छ ।

रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाउने र पक्राउ परेकामध्ये सार्वजनिक पदमा रहिसकेकाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र बाँकीलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट पनि थप अनुसन्धान गर्नुपर्ने भन्दै दुवै निकायमा लेखी पठाउने राय छ । अदालतमा मुद्दा दायर गर्नुअघि अनुसन्धान प्रतिवेदनको अध्ययन सहज होस् भनेर प्रहरीले प्रतिवेदन लेखनकै क्रममा जिल्ला सरकारी वकिल कार्यालयका अधिकारीलाई समेत सहभागी गराएको छ ।

Advertisement

पूर्वउपप्रधानमन्त्री एवं एमाले सांसद टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, सरकारका सचिव टेकनारायण पाण्डे, गृह मन्त्रालय मातहतको नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ, काँग्रेसका पूर्वसांसद आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई र खाण गृहमन्त्री हुँदाका प्रमुख स्वकीय सचिव नरेन्द्र केसी सार्वजनिक पद धारण गरेका आरोपित हुन् । उनीहरूमाथि राज्यविरुद्धको अपराधसहित अख्तियारमार्फत थप अनुसन्धान गर्नुपर्ने भएकाले सम्बन्धित निकायमा लेखी पठाइने जनाइएको छ ।