काठमाडौं । रुकुम पूर्वमा दिदी-बहिनीको हत्या आरोपित दुई किशोरीलाई बाल सुधार गृहमा पठाइएका छन्।१० वर्षीया रिना र ८ वर्षीया कालीमाया बुढाको हत्या घटनामा जिल्ला अदालत रूकुम पूर्वले शुक्रबार आरोपित दुई किशोरीलाई सुधार गृहमा पठाउन आदेश दिएको हो।
हत्या आरोपित किशोरीहरू १५ वर्ष मुनिका भएकाले सुधार गृहमा पठाउन अदालतले आदेश दिएको प्रहरीले जनाएको छ। उमेर नपुगेका बालबच्चाले जघन्य अपराध गरेपनि उनीहरूलाई सुधार गृहमा राख्नुपर्ने कानुनी व्यवस्था अनुसार उनीहरूलाई भक्तपुरको सुधार गृहमा पठाइएको हो।
दिदीबहिनीले कान र नाकमा लगाएका सुनका गहना लुट्न हत्या गरेको प्रहरीसमक्ष बताएका थिए।
चैत २२ गते साढे २ देखि ३ बजेको बीचमा पुथा उत्तरगंगा गाउँपालिका-३ का रिना र कालीमायाको हत्या भएको थियो। उनीहरू खरायोका लागि घाँस काट्न पुगेका थिए। हत्या पछि आरोपित दुई किशोरीले शव खोल्सामा लुकाएका थिए। अँध्यारो भएपछि डोकोमा राखेर एक किलोमिटर टाढा लगेर भिरबाट फालेको अनुसन्धानबाट खुलेको थियो।
चैत २३ गते बिहान मात्रै बुढा दिदीबहिनीको शव भिरमा फेला परेको थियो। उनीहरूको निधार र टाउकोमा दाउराले आक्रमण गरेको घाउ र घाँटीमा पनि निलडाम थियो। पहिले उनीहरूमाथि आक्रमण गरी बेहोस बनाइ घाँटी थिचेर हत्या भएको प्रहरीले बताएका थिए।