विराटनगर । मोरङको ग्रामथान गाँउपालिका–२ झोराहाट स्थितमा रहेको सौजन्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सेफ फोडी नगद चोरी तथा डाका गर्ने ४ जनाको समुहलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ग्रामथान गाँउपालिका–५ मोरङका ४० बर्षीय दिलिप कुमार चौधरी, २८ बर्षीय ईरज धामी, सर्लाही लालबन्दी–२ का ३५ बर्षीय मिथुन पासवान र सर्लाही ईश्वरपुर–५ का २६ बर्षीय मिथिलेश महत्तो रहेका छन् ।
उनीहरुले गत चैत्र २ गते राती बैङ्कको ढोका फोडी फलामको सेफ बाकसमा राखेको नगद ७ लाख ७७ हजार १८ रुपैया चोरी गरेका थिए । बैङ्कबाट रकम चोरी भएको जानकारी प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय बेलबारीबाट अनुसन्धान तथा खोज तलासमा खटिएको प्रहरी टोलीले उनिहरुलाई सर्लाहीको बिभिन्न स्थानमा लुकिछिपि बसेको अवस्थामा पक्राउ गर्न सफल भएको हो ।
पक्राउ परेका उनीहरुलाई सम्मानित मोरङ जिल्ला अदालतमा दाखिला गरिएकोमा अदालतको आदेशले तीन जनालाई पुर्पक्षको लागि कारागार पठाईएको र मिथिलेस महतो २ लाख रुपैया धरौटीमा छुटेको साथै घटना सम्बन्धमा अन्य अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।




