काठमाडौं । कतार पुलिसको जागिर लगाइदिने भन्दै ६३ लाख रुपैयाँ ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरी कञ्चनपुर गाउँपालिका घर भई हाल काठमाडौँको टोखा बस्ने पुर्णकुमार दाहाल रहेका छन् ।
प्रहरीका अनुसार चन्द्र बहादुर खत्रीसमेत १८ जनाको जाहेरीका आधारमा उनी पक्राउ परेका हुन् । उनले प्रतिव्यक्ति सात लाख रुपैयाँसम्म गरी कुल ६३ लाख ठगेको प्रहरीको भनाइ छ ।
रकम लिएर उनी फरार भएपछि वैदेशिक रोजगार विभागमा उजुरी परेको थियो । विभागले गरेको पत्राचारका आधारमा उनलाई प्रहरीको विशेष प्रहरी टोलीले झापाको भद्रपुरबाट पक्राउ गरेको हो । उनलाई अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको कार्यालयले जनाएको छ ।