दमक । झापा, दमक नगरपालिका–१ श्रीपाली चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय मिलिग्रामसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही नगरपालिका–१ कुमाल चोक बस्ने ईलाम फाकफोकथुम गाउँपालिका–४ घर भएका ३९ वर्षीय धनराज आले रहेका छन् । उनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले मे.७ प ५१०७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक आलेलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी झापा, दमक नगरपालिका–९ स्थित चिया पसलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम सहित सोही नगरपालिका–९ बस्ने २६ वर्षीया अनिशा कार्कीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले चिया पसलमा बसिरहेकी उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।