नुवाकोट । खुर्पा प्रहार गरी दुई जनाको हत्या गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् । दुप्चेश्वर गाउँपालिका–५ भगेरी डाँडा बस्ने १९ वर्षीया सम्झना खतिवडा र उनकी छोरी ४ वर्षीया कृष्टिना खतिवडालाई धारिलो हतियार खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २१ वर्षीय पुष्कल भन्ने सोनाम तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार सोमबार राती सोनामले मृतकको घरमा गई सम्झना र कृष्टिना खतिवडालाई खुर्पा प्रहार गर्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
तामाङलाई प्रहरी चौकीसमुन्द्रटार र जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले मंगलबार बिहान घटनास्थलनजिकै रहेको जंगलमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




