पाँचथर । जुवा खेल्ने क्रममा विवाद हुँदा आफ्नै साथीको हत्या अभियोगमा पाँचथरका एक जोडि दम्पतिसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पाँचथरको फिदिम नगरपालिका –१२ घर भई विर्तामोडको नया वसपार्कमा होटल सञ्चालन गर्दै आएका २१ वर्षीय अमृत आचार्य र उनकै श्रीमति २३ वर्षीया बिमला राई र इलाम घर भई विर्तामोडको नयाँ बसपार्कमा ताप्लेजुङ इलाम होटल सञ्चालन गर्दै आएका ३८ वर्षीय इन्द्र बहादुर अधिकारी रहेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई झापा प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई ईलाका प्रहरी कार्यालय, बिर्तामोडले पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो ।
असोज १६ गते फुलपातीका दिनसँगै तास खेलेका ताप्लेजुङ सिदिम्बा–४ घर भई बिर्तामोड नयाँ बसपार्क नजिकै वस्दै आएका २५ वर्षीय नविन्द्र गुरुङको हत्या गरेको आरोप लागेको छ ।
उनीहरुले हत्या पश्चात गुरुङको शव १५० मिटर पूर्व भागमा लगेर लुकाउने प्रयास गरेको प्रहरीले जनाएको छ ।
जुवा खेल्ने क्रममा विवाद हुँदा गुरुङलाई साथीहरुले टाउको पछाडिको भाग र नाकमा हिर्काएर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
गुरुङको शव असोज १८ गते विहान बसपार्कको ड्राइभिङ सेन्टर पूर्व भागमा फेला परेको थियो ।
बिर्तामोडका डिएसपी रुगमबहादुर कुवरका अनुसार गुरुङको टाउकोमा लोहोरो र धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको छ । जुवामा हारजितको विषयलाई लिएर उनीहरु बिच विवाद भएको प्रहरीको भनाई छ ।