काठमाडौँ — काठमाडौंको गोठाटारमा भएको लाल मोहम्मद अन्सारीको हत्या आरोपमा पक्राउ परेका तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ । केही दिनअघि पक्राउ परेका उनीहरूलाई काठमाडौं प्रहरी परिसरले शुक्रबार सार्वजनिक गरेको हो ।
अन्सारीको हत्यामा पेस्तोल उपलब्ध गराउने वीरगन्जका मोहम्मद महारम मियाँसहित तीन जनालाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।
प्रहरीले वीरगञ्ज महागरपालिका १६ का २१ वर्षीय महोरम मियाँ, वीरगञ्ज महानगरपालिका १५ का १९ वर्षीय रेहान मियाँ र मकवानपुर बकैया गाउँपालिका १ की सुमी भनिने सुस्मिता स्याङताङलाई शुक्रबार सार्वजनिक गरेको हो । वीरगञ्जका महोरम र रेहानले हत्याको योजना बनाउनुका साथै हतियार व्यवस्थापन गरेको प्रहरीको अनुसन्धानमा खुलेको बताइएको छ । सुस्मिताले भने अन्सारीको गतिविधि निगरानी गरेको प्रहरीले जनाएको छ ।
गत असोज ३ गते काठमाडौंको गोठाटारस्थित जम्बुडाँडामा गार्मेन्ट व्यवसायी लाल मोहम्मदको गोली हानी हत्या भएको थियो । मोटरसाइकलमा आएका २ जनाले गोली हानी फरार भएका थिए ।
घटनाका मुख्य योजनाकार लामो समयदेखि काठमाडौं बस्दै आएका नितिन मदन भएको आशंका गरिएको छ । प्रहरीका अनुसार हाल उनी फरार छन् । घटनामा भारतीय आपराधिक समूह र उनीहरूको सहयोगीका रूपमा काठमाडौंमा रहेका व्यक्तिमाथि शंका गरिएको थियो ।
घटनाको अनुसन्धानका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी जनक भट्टराईको नेतृत्वमा अनुसन्धान टोली गठन गरिएको थियो ।