सुनसरी । सुनसरीको धरान उप–महानगरपालिका–२० की ६४ बर्षीया पुर्णसरी रईको हत्यामा संग्लग्न रहेको आरोपमा ईलाका प्रहरी कार्यालय धरानले २ जनालाई पक्राउ गरेको छ ।
भदौ २९ गते दिउँसो राई आफ्नै घरमा मृत अबस्थामा रहेको भन्ने खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय धरानबाट प्रहरी टोली खटि गई अनुसन्धान शुरु गरेको थियो । अनसन्धानको क्रममा राईको शरीरमा धारिलो हतियारले काटिएको पाएसँगै हत्याको आशंकामा सुक्ष्म अनुसन्धान शुरु गरेको प्रहरी टोलीले घटना भएको केही दिनमा घटनामा संग्लग्न २ जनालाई पक्राउ गरेको हो ।
१ नम्बर प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समुह, संघीय प्रहरी ईलाका कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सुनसरी र ईलाका प्रहरी कार्यालय धरानबाट संयुक्त रुपमा परिचालन भएको प्रहरी अनुसन्धान टोलीले घटनामा संग्लग्न रहेका धनकुटाको सागुरीगढी गाउँपालिका–०८ ढुङ्गेका १८ बर्षीय निखिल भन्ने नकुल राई रहेको खुलेसँगै राईलाई असोज २ गते बिराटनगरको रानीबाट पक्राउ गरेको थियो । पक्राउ परेका राईलाई सोधपुछ गर्ने क्रममा उक्त घटनामा भोक्राहा नर्सीङ गाउँपालिका–६ का २० बर्षीय रन्जित कुमार साहको संग्लग्नता रहेको खुलेपछि साहलाई समेत पक्राउ गरेको हो ।
हत्याको आरोपमा पक्राउ परेका राईले पुर्णसरी राईको धारिलो हतियार प्रहार गरी हत्या गरेको र राईले लगाएको सुनको सिक्री तथा कुन्डलसमेत लुटेर लगेको खुल्न आएको छ । उक्त लुटेको सुनका गहना रन्जित कुमार साहको घरमा लुकाई छिपाई राखेको अवस्थामा बरामद भएको थियो ।
हत्या आरोपमा पक्राउ परेका दुबै जनाको सम्बन्धमा ईलाका प्रहरी कार्यालय धरानले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।