November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

बालविवाह अन्त्य वडा निर्माणका लागि सक्रिय हुँदै स्थानीय तह

4K

बाँके – बालविवाहरहित समाजको विकास गरी सभ्य र समृद्ध जिल्ला निर्माणमा बाँकेका स्थानीय तह सक्रिय भएका छन् ।

किशोरी क्लबसँगको सहकार्यमा यहाँका स्थानीय तहले बालविवाहरहित समाजको निर्माणमा सक्रियता देखाएका हुन् । खजुराको लगनशील किशोरी क्लबमा आयोजित एक कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय श्रीवास्तवले जिल्ला परिषद्ले बालविवाहमुक्त जिल्ला घोषणा गर्ने प्रस्ताव पारित गरिसकेको जानकारी दिनुभयो ।

उहाँले अशिक्षाका कारण बालविवाह नघटेको जिकिर गर्दै बालिका शिक्षाका लागि जिससले जिल्लाका पाँचवटा स्थानीय तहमा छात्रा मात्र पढ्ने विद्यालयका लागि सहयोग गर्न लागेको जानकारी दिनुभयो । त्यसैगरी खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपति, उपाध्यक्ष एकमाया विक र नेपालगञ्ज उपमहानगरपालिका उपप्रमुख उमा थापा मगरले बालविवाह न्यूनीकरण गर्दै बालविवाहमुक्त घोषणाबारे स्थानीय तहको तयारीबारे जानकारी गराउनुभयो । खजुरा गाउँपालिकाका अध्यक्ष कक्षपतिले गाउँपालिकाको वडा नं १, २, ३ र ४ लाई बालविवाहमुक्त वडा घोषणा गर्ने तयारी भइरहेको बताउनुभयो ।

Advertisement

उहाँले अन्य वडामा भने बालविवाहबारे सचेतनामूलक कार्यक्रमको खाँचो रहेको बताउँदै बालविवाह न्यूनीकरणका लागि किशोरी क्लबले योजना ल्याएमा बजेट नै विनियोजन गर्ने प्रतिबद्धता जनाउनुभयो । नेपालगञ्ज उपमहानगरपालिका उपप्रमुख उमा थापा मगरले नगरका सबै वडामा किशोरी क्लब गठन गर्ने र क्लबको संस्थागत विकास गरी बालविवाहमुक्त वडा घोषणा गरिने बताउनुभयो ।

बाँकेलाई बालविवाहमुक्त गर्न प्लान इन्टरनेशनल नेपालले जिल्लाका आठवटै स्थानीय तहसँगको सहकार्यमा स्याक नेपाललाई बालविवाह रोकथाम परियोजना सञ्चालन गर्न सहयोग गरेको छ ।

सो परियोजनाले आगामी ६ महिनाभित्र जिल्लाका कम्तीमा पनि २० वडालाई बालविवाहमुक्त घोषणा गर्ने तयारी गरेको बताइएको छ ।