March 20, 2025, Thursday
२०८१ चैत्र ७
1:37:26 pm

नक्कली विवाह गराइ २ करोड ५० लाखको बीमा गराएर भुक्तानी लिन युवकको हत्या

4.8K

काठमाडौं । २ करोड ५० लाख रुपैयाँ बराबरको बीमा गरी भुक्तानी लिन एक युवकको हत्या भएको खुलेको छ । बाँकेको कोहलपुर बस्ने २१ वर्षीय सर्जन बिकको हत्या र हत्यापश्चात् बीमा रकम असुल गरिएको सम्बन्धमा ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाँके कोहलपुरका सपना मल्ल, सञ्जीव अर्याल, सरदार अहमद खाँ, टोपबहादुर राना, दीपक केसी र ललिता सापकोटा रहेका छन् । उनीहरूलाई सीआईबीले शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

२ करोड ५० लाख रुपैयाँ बराबरको इन्सुरेन्स गराइएका सर्जन बिकको त्यसको ३७ दिनमै २०७८ वैशाख २ गते बाँकेको कोहलपुरमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु भयो । टोपबहादुर राना क्षेत्री भन्ने व्यक्तिले चलाएको मिनिबसले ठक्कर दिएपछि बिकको मृत्यु भएको थियो । दुर्घटनामा बिकको मृत्यु भएपछि इलाका प्रहरी कार्यालय कोहलपुरबाट सवारी ज्यान मुद्दा चलाइएकामा २०७८ माघ २५ मा फैसला हुँदा रानालाई एक महिना कैद र २ हजार रुपैयाँ जरिवाना गरी छाडिएको थियो ।

Advertisement

प्रहरीका अनुसार उक्त आपराधिक गिरोहले गरिब परिवारका एक युवकलाई डिपेण्डेण्ट भिसामा अस्ट्रेलिया लैजाने भन्दै नक्कली विवाह गराई २ करोड ५० लाख रुपैयाँको बीमा गराएका थिए । नक्कली विवाह गरी इच्छाइएको व्यक्तिको नाममा नक्कली श्रीमतीको नाम राखी बैंक खाता खोलिएको र बीमा गराइएको पाइएको छ । २ करोड ५० लाख रुपैयाँ बराबरको बीमा गराइ ती युवकलाई योजनामै हत्या गरिएको पाइएको छ ।

रानाको मुद्दा सकिए लगत्तै प्रहरी प्रतिवेदनका आधारमा मृत्यु दर्ता, दुर्घटनाको प्रमाण आदि पेस गरी गिरोहले रिलायन्स इन्सुरेन्सबाट २ करोड ५० लाख रुपैयाँ भुक्तानी लिएका थिए । इन्सुरेन्सबाट आएको पैसा गिरोहका सदस्यहरूले बाँडेर लिएको पाइएको छ । मृतकको नजिकको हकवालाका रूपमा श्रीमती बनाइएकी सपना मल्लको बैंक खातामा इन्सुरेन्स कम्पनीले २ करोड ५० लाख रुपैयाँ भुक्तानी दिएको थियो । उक्त रकममध्ये मुख्य योजनाकार सञ्जीव अर्यालले ८० लाख २६ हजार रुपैयाँ, दीपक केसीले ६० लाख छवि कुमारी खत्री नाम गरेकी सपना मल्लकी आमाले १७ लाख ४६ हजार रुपैयाँ लिएको पाइएको छ । त्यसैगरी चालकले समेत रकम लिएको र बाँकी रकम सपना आफैँले राखेको प्रहरीले जनाएको छ ।

सीआईबीका अनुसार मृतक २१ वर्षीय सर्जन बिक र सपनाबीच विवाहको दिन मात्रै भेट भएको थियो । विवाह दर्ता र बैंकमा खाता खोल्ने समयमा मात्रै उनीहरूबीच भेट भएको प्रहरीले जनाएको छ । गरिब परिवारका सर्जनलाई विवाह गरी अस्ट्रेलिया लैजाने भन्दै सपना मल्लसँग नक्कली विवाह गरिएको थियो । त्यसपछि उनीहरूबिच भेटघाट नै नभएको प्रहरीले जनाएको छ ।

उक्त मृत्युपछि इन्सुरेन्स कम्पनीले रकम भुक्तानी गरेको भए पनि उक्त घटना शङ्कास्पद देखिएपछि रिलायन्स इन्सुरेन्स कम्पनीले सीआईबीमा अनुसन्धानका लागि पत्र लेखेको थियो । त्यसपछि भएको अनुसन्धानमा सर्जनको सवारी दुर्घटनामा मृत्यु भएको नभई हत्या भएको पाइएको हो ।

दुर्घटनाभन्दा अगाडि र पछि पनि चालक टोप बहादुर रानासँग मुख्य योजनाकार सञ्जीव अर्यालको पटकपटक कुराकानी भएको, सपना र सञ्जीवबीच पटकपटक कुराकानी र रकम बाँडफाँड भएको देखिएको, योजनामा सघाउने सबैले रकम लिएको र घटनाबारे आरोपितहरूले कसुर स्वीकार गरेको सीआईबीले जनाएको छ ।