काठमाडौं । बारा सिम्रौनगढबाट हतियारसहित २ भारतीय नागरिक पक्राउ परेका छन् । सशस्त्र प्रहरी छिनमस्ता बाहिनीबाट खटिएको टोली र झरौखरस्थित सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीको संयुक्त टोलीले सिमौनगढ कचोर्वा सडक खण्डमा चेकजाँचका क्रममा दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको बिहारस्थित मोतिहारी जिल्ला कसवा लौखानका २३ वर्षीय पप्पु यादव र छिमेकी गाउँ भेलवा बजारका २२ वर्षीय अखलेस सिंह रहेका छन् ।
भारतबाट मोटरसाइकलमा आउनेक्रममा उनीहरुमाथि प्रहरीले चेकजाँच गर्ने त्रममा उनीहरुबाट चाइनिज अटोमेटिक पेस्तोल १ थान, म्यागाजिन १ थान, त्यसमा लाग्ने गोली २ थान, घरेलु नलकटुवा पेस्तोल १ थान र त्यसमा लाग्ने गोली २ थान बरामद भएको जनाइएको छ ।
मोटरसाइकल र हतियारसहित दुवै जनालाई ईलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाइएको सशस्त्र प्रहरी बाराले जनाएको छ ।