February 26, 2024, Monday
२०८० फाल्गुन १४
1:37:26 pm

आफ्नै साथीलाई गोली प्रहार गर्ने पक्राउ

२०७८ फाल्गुन २३

3.1K

जनकपुरधाम : धनुषामा आफ्नै साथीलाई गोली प्रहार गरी फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ शिवपुर बस्ने २५ वर्षीय रुपेश यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। यादवले शनिबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१९ शिवपुरस्थित आफ्नो मामाको घरमा बस्दै आएका १८ वर्षीय मुकेश मुखियालाई गोली हानेर फरार भएका थिए। 

मुकेश धनुषाको कमला नगरपालिका वडा नम्बर-८ घर भई हाल मामा घरमा बस्दै आएका थिए। धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेका अनुसार अनुसन्धानको क्रममा मुकेश मुखिया र रुपेश यादव साथी रहेको खुलेको छ। 

Advertisement

मुकेश आफ्नो मामाको किराना पसलमा बसिरहेको अवस्थामा रुपेशले आएर अचानक गोली प्रहार गर्दा घाँटीमा गोली लागेर उनी गम्भीर घाइते भएका छन्। उनको नर्भिक अस्पताल काठमाडौंमा उपचार भइरहेको छ। 

प्रहरीले घटनामा प्रयोग भएको पेस्तोल तथा संलग्न व्यक्तिलाई खोजी गर्ने क्रममा आइतबार विहान घटनास्थलभन्दा ६०/७० मिटरको दुरीमा रहेको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ स्थित जगदीश साहको खाली खेतमा म्यागजिन नभएको अटोमेटिक पेस्तोल फेला पारेको छ। 

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको विशेष अनुसन्धान टोलीले धनुषाको धनौजी गाँउपालिका वडा नम्बर–४ स्थित नेपाल भारतको सिमा क्षेत्रबाट भारततर्फ भाग्दै गरेको अवस्थामा पक्राउ गरेको उपरीक्षक रजौरेले जानकारी दिए। 

उनका अनुसार रुपेशले घटनामा आफ्नो संलग्नता रहेको स्वीकार गरिसकेका छन्।