नयाँदिल्ली । भारतको कर्नाटकस्थित हावेरी जिल्लामा बैंकले ऋण आवेदन अस्वीकार गरेपछि एक व्यक्तिले बैंकमा आगो लगाइदिएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार वसिम हजरतसाब मुल्लाले बैंकमा आगो लगाइदिएका हुन् ।
वसिमले केनरा बैंकको हेदुगोन्डा ब्रान्चमा ऋणको निवेदन दिएका थिए तर उनको सीआईबीआईएल स्कोर कम भएका कारण उनको आवेदन अस्वीकार गरिएको थियो । त्यसपछि वसिम रिसाउँदै शनिबार बैंक पुगे । उनले बैंकको एउटा ढोका खोले र बैंकमा पेट्रोल छरेर आगो लगाइदिए ।
आगलागीबाट १२ लाखको सामान जलेको भारतीय प्रहरीले जनाएका छन् । पाँच कम्प्युटर, पङ्खा, बत्ती, पासबुक प्रिन्टर, क्यास काउन्टिङ मेसिन, दस्तावेज, सिसिटिभीसमेत क्यास काउन्टरमा क्षती पुगेको प्रहरीले जनाएको छ ।
प्रहरीले आरोपी वसिमलाई पक्राउ गर्नुका साथै उनीविरुद्ध मुद्दा दर्ता गरिएको छ ।