काठमाडौं । काठमाडौंको स्वयम्भूनजिक छाउनीमा एक ट्याक्सी ड्राइभरमाथि चक्कु प्रहार भएको छ । शुक्रबार काभ्रे रोशी गाउँपालिका वडा नम्बर २ घर भई हाल डल्लु बस्ने ३८ वर्षीय कृष्णबहादुर लामामाथि चक्कु प्रहार भएको हो ।
शुक्रबार साँझ सवा ६ बजे काठमाडौं महानगरपालिका वडा नम्बर १३ छाउनी नेपाल टेलिकम अगाडि बा १ ज १४४६ नम्बरको ट्याक्सी चालक लामामाथि चक्कु प्रहार भएको प्रहरीले जनाएको छ ।
लामालाई ट्याक्सीमा सवार बारा कलैया घर हुने १९ वर्षीय विकास सरावले धारिलो हतियार चक्कुले घाँटीमा प्रहार गरेका थिए । चक्कु प्रहार गरेको आरोपमा सरावलाई तत्कालै नियन्त्रणमा लिइएको थियो ।
प्रहरीका अनुसार घाइते लामाको उपचारको लागि मनमोहन मेमोरियल अस्पताल स्वयम्भू लगिएको थियो भने त्यहाँबाट थप उपचारको लागि राति नै ट्रमा सेन्टर लगिएको थियो । अहिले उनको त्यही अस्पतालमा उपचार भइरहेको छ । उनी बोल्न सक्ने अवस्थामा रहेको प्रहरी उपरीक्षक मैनालीले बताए ।
सरावले लामामाथि चक्कु प्रहार गर्नुको कारण भने खुलिनसकेको प्रहरीले जनाएको छ ।
उनीहरूबीच चिनजान पनि नभएको महानगरीय प्रहरी वृत्त स्वयम्भूले जनाएको छ । चालकले पनि आफूहरूबीच कुनै विवाद नभएको प्रहरीसमक्ष बताएका छन् ।