January 27, 2022, Thursday
२०७८ माघ १३
1:37:26 pm

कुमारी बैंकले गर्‍यो गायक योगेश्वर अमात्यको १२ बिगाहा जग्गा सुरक्षित

२०७८ कार्तिक २४

235

काठमाडौं । गायक योगेश्वर अमात्यका अर्कैले नक्कली लालपूर्जा बनाएर धितो राखी बैंकबाट ऋण लिएका १२ बिगाहा जग्गा सुरक्षित देखिएको छ । केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार नक्कली कागजात बनाउने मुक्तिनाथ गौतम र एसकुमार महर्जनबाट बैंकले १९ करोड रूपैयाँ बराबरको धितो सुरक्षित गराएको हो ।

अमात्यको जग्गाको नक्कली लालपूर्जाबाट कुमारी बैंकले १९ करोड रूपैयाँ ऋण दिएको थियो । नक्कली कागजातका आधारमा ऋण लिएर आफूलाई ठगेको थाहा पाएपछि कुमारी बैंकले कीर्ते गर्ने व्यक्तिहरूबाट त्यस बराबर रकमको धितो सुरक्षित गरेको अनुसन्धानमा संलग्न प्रहरीले जनाएको छ ।

ठगीमा संलग्न गौतम र महर्जन बेनियल ट्रेडिङ कम्पनी कोटेश्वरका सञ्चालक हुन् । दुवैले अमात्य र उनकी श्रीमतीका नाममा रहेको बिरुवा भूमि वनकाली कम्पनीको नक्कली कागजात बनाएर एक महिनाअघि १९ करोड रुपैयाँ निकालेका थिए ।

Advertisement

कागजात नक्कली रहेको थाहा पाएपछि बैंकले गौतम र महर्जनको जग्गाजमिन राखेर नयाँ धितो कायम गरेको प्रहरीको भनाइ छ ।

अमात्यको बारा विश्रामपुरस्थित १२ बिगा जग्गाको नक्कली कागजात बनाएर १९ करोड रुपैयाँ निकालेको पाइएपछि गौतम र महर्जनसहित चार जनालाई ब्युरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कुमारी बैंक पर्सा शाखाका जुनियर असिस्टेन्ट सोनु ठाकुर, मूल्यांकनकर्ता बैंककै कर्मचारी राजेश्वर चौरसिया पनि छन् । ठाकुर, महर्जन र गौतम केही दिनअघि नै पक्राउ परेका थिए भने चौरसिया मंगलबार पक्राउ परेका थिए । पक्राउ परेका चारै जना, कुमारी बैंकको पर्सा शाखा, न्यूरोड शाखा र कुमारी बैंकको केन्द्रीय कार्यालय नक्सालका कर्मचारी छानबिनमा छन् ।

यो प्रकरणमा कुमारी बैंक पर्सा शाखा, न्यूरोड शाखा र केन्द्रीय कार्यालय नक्सालका कर्मचारीको के कति मिलेमतो र संलग्नता छ भन्ने विषयमा अनुसन्धान जारी रहेको प्रहरीले बताए ।

कुमारी बैंक पर्सा शाखाका जुनियर असिस्टेन्ट ठाकुरसहितको मिलेमतोमा उक्त जग्गाको नक्कली लालपूर्जा बनाएर बैंकको न्यूरोड शाखाबाट रकम निकालेको पत्ता लागेपछि चार जनालाई पक्राउ गरिएको ब्युरोले जनाएको छ ।

नक्कली कागजात बनाएर गौतम र महर्जनले सुरूमा पर्सा शाखामा निवेदन दिएको दिए । पर्सा शाखाका कर्मचारी ठाकुर र चौरसिया नक्कली कागजातबाट १९ करोड रुपैयाँ ऋण स्वीकृतिका लागि गौतम र महर्जनलाई सहयोग गरेका थिए ।

पर्सा शाखाले न्यूरोड शाखामा फाइल पठाएको थियो । न्यूरोड शाखाले ऋण दिँदा नक्सालस्थित केन्द्रीय बैंकको स्वीकृति पनि लिएको देखिएको महतोले बताए ।

गायक अमात्यले आफ्नो जग्गा कीर्ते गरेर ऋण निकालेको थाहा पाएपछि एक महिनाअघि ब्युरोमा जाहेरी दिएका थिए ।